मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Complaint to Congress Central Disciplinary Committee by MP Bajgai demanding action against Minister Pandey

काठमाडौँ — कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूविरुद्ध अभियान चलाएको भन्दै कांग्रेसका सांसद राजेन्द्र बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । 

मन्त्री पाण्डेले पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा आफ्नाविरुद्ध सामाजिक संजालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णय लिँदै आएको पनि बजगाईंको आरोप छ ।

'योजनाबद्ध ढंगले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लंघन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,' बजगाईंले भनेका छन्, 'मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन् । उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन् । मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन, यो सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो ।'

कांग्रेस केन्द्रीय अनुशासन आयोगमा दिएको उजुरीमा बजगाईंले भनेका छन्, 'म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु । पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै, कांग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनात्मक कारबाहीको माग गर्दछु ।'

सांसद बजगाईंले मन्त्री पाण्डेले पछिल्लो समय दिएका अभिव्यक्तिको विरोध गरेका छन् । पार्टी नीति र विचारविरुद्ध मन्त्री पाण्डेबाट अभिव्यक्ति आइरहेको हुँदा कारबाही हुनुपर्ने सांसद बजगाईंको माग छ ।  

Complaint to Congress Central Disciplinary Committee by MP Bajgai demanding action against Minister Pandey

कान्तिपुर संवाददाता

Link copied successfully