जनमत र उन्मुक्ति पार्टीबीच एकता तयारी

एकता गरेर तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने दाबी

फाल्गुन २९, २०८१

गंगा बीसी

Preparation of unity between Janmaat and Unmukti Party

काठमाडौँ — मधेश र पश्चिम तराईमा गत आम निर्वाचनबाट उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेका छन् । दुवै दलका नेताले आगामी निर्वाचनमा तराई–मधेशमा पहिचानवादीको ‘निर्णायक’ शक्ति बन्ने लक्ष्यका साथ छिट्टै पार्टी एकता गर्ने जनाएका हुन् । 

नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले राजनीतिक दस्ताबेज, पार्टीको नाम र चुनाव चिह्नबारे छलफल चाँडै टुंग्याएर एकता गर्ने बताए । ‘पार्टी एकतासम्बन्धी राजनीतिक दस्ताबेजको मस्यौदा तयार भइसकेको छ ।

अब छिट्टै पार्टी एकता गर्ने तयारीमा छौं,’ उनले भने, ‘तराई–मधेशमा बसोबास गर्ने, रहनसहन, कार्यशैली मिल्ने, तराईमा बसेर हामीजस्तै पहिचानको मुद्दा अघि बढाइरहेका शक्ति मिलेर नेतृत्व लिनुपर्छ भन्ने अवधारणा नै पार्टी एकताको आधार हो ।’

जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकताका लागि आन्तरिक गृहकार्य भइरहेको बताए । ‘हामी जतिसक्दो छिटो एकतालाई टुंग्याउने पक्षमा छौं । हाम्रो एकताको मुख्य आधार पहिचानसहित अग्रगामी परिवर्तन हो,’ उनले भने । जनमतले विचार मिल्ने पार्टीहरूसँग एकीकरण गर्न भन्दै अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको छ ।

जनमतका महासचिव चन्दन सिंहले तराई–मधेशमा ‘निर्णायक’ शक्ति बन्ने मुख्य उद्देश्यका साथ पार्टी एकतामा जुटेको बताए । ‘पहिचानवादी र परिवर्तनकामी शक्तिबीच एकता गरेपछि मात्र मुद्दा अघि बढाउन सहज हुन्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । थरुहट र मधेश एक भए आगामी निर्वाचनमा आफ्नो मुद्दा लागू गर्न सहज हुने निष्कर्ष केन्द्रीय कमिटी बैठकले निकालेको उनले जानकारी दिए । 

नेताहरूका अनुसार पार्टी एकताका लागि मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्ला तहमा छलफल चलिरहेको छ । उन्मुक्तिका केन्द्रीय सदस्य गणेश चौधरीका अनुसार एकतापछि बन्ने पार्टीको संरचनाबारे जिल्ला तहमा छलफल चलिरहेको छ । ‘स्थानीय तहमा पनि पार्टी एकताको चर्चा सुरु भइसकेको छ,’ उनले भने । 

प्रतिनिधिसभामा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट छ । प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्तिले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेका थिए । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । नागरिक उन्मुक्तिका सांसद प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ७ जना छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् ।

जनमतका सांसद मधेशमा १३ र लुम्बिनीमा ३ जना छ । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा एकीकृत दल चौथो दलकै रूपमा रहनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा पनि चौथो दल बन्नेछ । दुई दलले यसअघि पुस २०७९ मा पनि एकताका लागि प्रयास गरेका थिए तर सफल हुन सकेको थिएन । 

...

‘पहिचानको मुद्दा नै एकताको आधार’

Preparation of unity between Janmaat and Unmukti Party

रेशमलाल चौधरी

नागरिक उन्मुक्ति पार्टी, संस्थापक अध्यक्ष 

तपाईंहरू जनमत पार्टीसँग मिल्न तयार हुनुभएको हो ?

पार्टी एकताको राजनीतिक मस्यौदा तयार भइसकेको छ । अब छिट्टै पार्टी एकता गर्ने तयारीमा छौं । पार्टीको नाम र चुनाव चिह्न लगभग टुंगो भइसकेको छ । 

पार्टी एकताको आधार के हो ?

हामीले थरुहट पहिचान माग्यौं । त्यो त्यहाँका जनताको भावना हो । तराई–मधेशमा बसोबास गर्ने, रहनसहन, कार्यशैली मिल्ने, तराईमा बसेर हामीजस्तै पहिचानको मुद्दा अघि बढाइरहेका शक्ति मिलेर राष्ट्रिय नेतृत्व लिनुपर्छ भन्ने अवधारणा नै पार्टी एकताको आधार हो । पहिचानवादीको ठूलो शक्ति बन्न मुद्दा मिल्ने पार्टीसँग सहकार्य गर्नुको विकल्प छैन ।

अहिले नै किन मिल्न लाग्नुभयो ?

राजनीतिक दलसम्बन्धी विधेयकबाट साना दललाई कस्न खोजिएको छ । हामी प्रतिस्पर्धात्मक राजनीतिमा आएका दल हौं । निर्वाचनमा जानुअघि मुद्दा मिल्ने शक्तिहरू एक हुन जरुरी छ । 

तराई–मधेशकेन्द्रित अन्य दलले पनि पहिचानको मुद्दा अघि बढाइरहेका छन् नि ?

हामी पुराना शक्तिमाथि विश्वास गर्दैनौं । उनीहरू नेतृत्व लिन मात्र अघि सर्छन्, पहिचानको मुद्दालाई ध्यान दिँदैनन् । हामीले पहिचानको मुद्दालाई प्राथमिकतामा राखेका छौं । नेतृत्वका लागि होडबाजी नगरी अघि बढ्छौं । 

...

‘पहिचानवादी शक्ति एक भए मुद्दा अघि बढाउन सहज’

Preparation of unity between Janmaat and Unmukti Party

चन्दन सिंह

महामन्त्री, जनमत पार्टी

जनमत र नागरिक उन्मुक्तिबीच एकता सुनिश्चित भइसकेको हो ?

हाम्रो पार्टीको गत साता बसेको केन्द्रीय समिति बैठकले एकता गर्ने निर्णय लिएको छ । त्यही निर्णयअनुसार प्रक्रिया अघि बढेको छ । जतिसक्दो छिटो एकता गर्ने पक्षमा छौं ।

एकताको आधार के हो ?

हामी पहिचानवादी शक्ति एक हुनुपर्छ भन्ने मुख्य आधार हो । पहिचानवादी, परिवर्तनकामी शक्तिबीच एकता गरेपछि मात्र मुद्दा अघि बढाउन सहज हुन्छ । नागरिक उन्मुक्ति पार्टीको मूल उद्देश्य पहिचानको मुद्दालाई मूर्तरूप दिएर अघि बढाउने हो । मधेशी, थारू, दलित, मुस्लिमको पहिचानसहित राज्यसत्तामा देखिने गरी उपस्थिति जनाउन एकता हुन लागेको हो ।

कस्तो राजनीतिक दस्ताबेज बन्दै छ ?

एकता पूरा गरेपछि सबै कुरा बाहिर आउनेछ । पूरै तराई–मधेशको मुद्दामा केन्द्रित गरी अघि बढ्छौं । हाम्रो आफ्नै पहिचान र इतिहास छ । त्यसलाई केलाएर अघि बढ्छौं । उन्मुक्ति पार्टी प्रतिनिधिसभामा ४ सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न सकेन । हामी राष्ट्रिय पार्टी बन्यौं । 

त्यतिबेला मिलेर चुनाव लडेको भए हामी ठूलो राष्ट्रिय शक्ति हुने थियौं । यही राजनीतिक परिस्थिति विश्लेषण गरी हामी एक भएर जानुपर्छ भन्ने टुंगोमा पुगेका छौं । हामी एक भयौं भने निर्णायक शक्ति हुन्छौं । हाम्रो उद्देश्य एउटै हो, पीडा एउटै हो, मिलेर गयौं भने समाधान गर्न सकिन्छ ।

पहिचानको मुद्दा त मधेशकेन्द्रित अरू दलले पनि उठाएका छन् नि ?

उनीहरूले सत्तामा जानका लागि पहिचानको मुद्दा उठाए । उनीहरू १५ वर्षदेखि सत्तामै छन् । पहिचानको मुद्दा सफल भयो त ? हामी नयाँ शक्ति बनेर आएपछि मधेश, थरुहटको आशा हामीमाथि छ । जनताले हामीलाई नै विश्वास गरेका छन् ।

गंगा

Link copied successfully