काठमाडौँ — स्ववियु निर्वाचनदेखि ४१ करोड रुपैयाँ मूल्य बराबरका नेपाली सम्पदा नेपाल आउनेसम्मका समाचार बुधबार कान्तिपुरमा प्रकाशित भएका छन् । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएका छन्।
मंगलबार मनोनयन दर्ता गर्नेक्रममा एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। काठमाडौं उपत्यकाका ८ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अवरोध देखिएको छ । केही क्याम्पसमा मतदाता नामवलीको टुंगो लाग्न सकेको छैन भने केहीमा उम्मेदवारी दर्तापछि तालाबन्दी र अवरोध भएको हो ।
त्यस्तै ४१ करोड रुपैयाँ मूल्यबराबरका २० वटा पुरातात्विक सम्पदा अमेरिकाले नेपाललाई फिर्ता गर्ने घोषणा गरेको छ । न्युयोर्कस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिस (जिल्ला न्यायधिवक्ताको कार्यालय)ले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपालबाट तस्करी गरी अमेरिका ल्याइएका ३० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ४१ करोड १० लाख मूल्य बराबरका २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने जनाएको हो । विज्ञप्तिमा फिर्ता गरिने मिति भने उल्लेख गरिएको छैन ।
पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ५५ जनालाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । बन्धक मुक्त गराउने क्रममा २७ विद्रोही र ३० सुरक्षाकर्मी मारिएका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । उद्धारका क्रममा ३७ यात्रु घाइते भएको जनाएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार ९ वटा डिब्बा रहेको रेलमा ४ सय भन्दा बढी यात्रु थिए ।
त्यस्तै अमेरिकामा क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र अन्य खनिजमाथि लागू गर्ने भनिएको ५० प्रतिशत ट्यारिफ लगाउने योजना तत्काल रोकिएको छ । यद्दपि क्यानडाबाट आयात हुने यी धातुमा २५ प्रतिशत ट्यारिफ जारी रहनेछ । जो आजदेखि नै लागू हुँदैछ ।
त्यसैगरी महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
