प्रतिगामी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्नेछौँ :  अध्यक्ष दाहाल

फाल्गुन २८, २०८१

सन्जु पौडेल

We will warn against the conspiracies of the regressive forces by taking millions of people to the streets: President Dahal

तिलोत्तमा — माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिका षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने बताएका छन् । इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्न खोजेको उनको भनाइ छ ।

बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाका पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको पनि बताए । आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरण गर्न सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले स्पष्ट पारे ।

'अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हो,' उनले भने, 'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा गई पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुँदैन ।'

जनताको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी माओवादीको रहेको पनि दाहालको भनाइ छ ।  'प्रतिगामी तत्व व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न् भने भ्रष्ट र दलालले विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन् । हामी यो हुन दिनेछैनौं,' उनले भने । 

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको भन्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए ।

'हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्त्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो,' उनले भने, ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ ।'

निष्क्रिय रहेका मोर्चालाई समेत ब्युँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएको बताए । 'अब क्रमशः भेला सम्मेलन मार्फत सबै मोर्चा सक्रिय बनाउने छौं,' उनले भने, 'त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जानेछौं ।'

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully