सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्नेमा प्रतिशोधको तरबार बनायो : सांसद गौतम 

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

The government made a sword of revenge for making the law the scale of justice: MP Gautam

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कानुनको दुरुपयोग भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले सरकार नियन्त्रणमुखी काममा लागेको आरोप लगाइन् ।

सरकार असहिष्णु र नियन्त्रणमुखी बन्दै गएको सांसद गौतमको भनाइ थियो । 'सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छ । म देख्छु, सरकार अत्यधिक सतर्क, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ,' उनले भनिन्, 'सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर संकटमा छ । तर यो संकट सरकार आफैं निम्त्याएको हो । सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो ।' 

सरकारले उदाउँदै गरेका नयाँ शक्तिलाई दमन गरिरहेको गौतमको भनाइ थियो । गणतन्त्रमा जन्मिइ, हुर्किएर लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्ने नयाँ दललाई झूटो मुद्दा लगाएर दमन भइरहेको उनले आरोप लगाएकी छन् ।

सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारहरूको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गरेर नियन्त्रणमुखी शासनका लक्षण भएको गौतमले बताइन् । 'सरकारले सदन, सडक, सामाजिक सञ्जाल, सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन,' उनले भनिन् ।

लोकतन्त्रलाई खतरा अरु कोहीबाट नभएर सरकारबाट भइरहेको गौतमको भनाइ थियो । उनले आग्रह गरिन्, 'सबैको विचार अट्ने व्यवहार गर्नुस् नत्र परिणाम जनताको पक्षमा हुनेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully