अध्यादेशबारे प्रतिपक्षी सांसदले आग्रह राखेर बोले : मन्त्री गुरुङ

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Opposition parliamentarians insisted on the ordinance and said: Minister Gurung

काठमाडौँ — अध्यादेशमाथि छलफलका क्रममा सांसदहरूले आग्रह राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोप लगाएका छन् । सरकारले ल्याएको विधेयकमाथि रचनात्मक छलफल गर्नुको सट्टा प्रतिपक्षका सांसदले भ्रमको खेती गरिरहेको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक माथि सांसदले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रह राखेको र भ्रमको खेती गरेको मन्त्री गुरुङको आरोप थियो । ‘सांसदले आग्रह राखेर बोली रहनुभएको छ । अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ । यो उहाँको एकांकी विचार हो भन्ने लाग्छ,' उनले भने, 'अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ ।'

सरकारले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले विरोध गर्नुपर्ने भन्ने सोच नराख्न पनि मन्त्री गुरुङले आग्रह गरे । 'सत्ता पक्षले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले त्यसको विरोध गर्नुपर्ने ? हामी विषयवस्तुको लामो छलफलमा गइरहेका छैनौँ । हामी आग्रह पोख्छौँ, भ्रमको खेती गछौँ यहाँ । रचनात्मक रुपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रुपले बुझ्ने कुराको धेरै अभाव देख्छु,’ उनले भने ।  

मन्त्री गुरुङले सुशासन प्रबर्धन गर्नु सबैको साझा उद्देश्य र दायित्य भएको बताए । उनले अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयकको विरोध हुनु वैचारिक र सैद्धान्तिक रुपले गलत भएको बताए ।  

कान्तिपुर

Link copied successfully