काउन्सिलले कालोसूचीमा राखेकामा ‘द हिमालयन टाइम्स’को आपत्ति

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Objection of 'The Himalayan Times' on blacklisting by the Council

काठमाडौँ — प्रेस काउन्सिलले कालोसूचीमा राखेपछि अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ ले आपत्ति जनाएको छ । आफ्नो जवाफ र स्पष्टीकरणबारे सुनुवाइ नगरी काउन्सिलले कालोसूचीमा राखेकाले उक्त त्रुटिपूर्ण निर्णय सच्याउन पत्रिकाले आग्रह गरेको छ । 

हिमालयन एडभेन्चर्स र निर्मल पुर्जाको विषयमा सम्प्रेषण भएको समाचारलाई लिएर गत १४ जेठमा उजुरी दर्ता भएपछि काउन्सिलले पत्रिकासँग जवाफ मागेको थियो ।

पत्रिकाले आफ्नो भनाइसहित खण्डन प्रकाशन गरेकामा उजुरीकर्ताले काउन्सिलमा अर्को निवेदन दिएका थिए । त्यस्तै, गत २७ भदौमा अर्को पटक स्पष्टीकरण सोधिएकामा पत्रिकाले उजुरीकर्ताको खण्डन प्रकाशन गरेको थियो ।  तर पत्रिकाले समाचारसँग सम्बन्धित अन्य विवरण पनि लेखेकामा काउन्सिलले कारबाहीको विषय बनाएको छ ।

‘उजुरीकर्ताको प्रतिक्रियालाई आंशिक स्थान दिएको देखिए पनि यसमा गिलमोरको भनाइ उद्धृत गर्दै उजुरीकर्ताको खण्डनको प्रतिखण्डन भएको देखियो,’ काउन्सिलको पत्रमा भनिएको छ । पत्रिकाले समाचारसँग सम्बन्धित अन्य व्यक्तिको भनाइलाई पनि उल्लेख गर्न पाउने अभ्यास र अधिकारलाई काउन्सिलले कारबाहीको विषय बनाएको छ । जवाफ चित्तबुझ्दो नआएको भन्दै काउन्सिलले द हिमालयन टाइम्स दैनिक र हिमालयन टाइम्स डटकमलाई कालोसूचीमा राखेको हो । 

काउन्सिलले १८ असोजमा समाचारका विषयमा अनुसन्धान गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको जनाएको छ । सोही कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप द हिमालयन टाइम्सलाई कालोसूचीमा राखेको काउन्सिलको भनाइ छ । काउन्सिलले एकतर्फी निर्णय गरेको भन्दै द हिमालयन टाइम्सले निर्णय खारेज गर्न माग गर्दै २५ फागुनमा प्रेस काउन्सिललाई पत्र लेखेको छ । खण्डनको आग्रहलाई सम्बोधन गरे पनि काउन्सिलले ध्यान नदिएको दाबी पत्रिकाले गरेको छ । 

द हिमालयन टाइम्सले प्रेस काउन्सिलले कुनै सूचना वा छलफलबिना एकपक्षीय रूपमा ‘कालोसूची’ मा राख्ने निर्णय गरेको भन्दै नेपाल मिडिया सोसाइटीको समेत ध्यानाकर्षण गराएको छ । काउन्सिलको कदम प्रेस स्वतन्त्रता र निष्पक्षताविरुद्ध रहेको पनि पत्रिकाको दाबी छ ।

‘प्रेस काउन्सिललाई स्पष्टीकरणसहितको औपचारिक पत्र बुझाइसकेका छौं, हाम्रो माग छ कि द हिमालयन टाइम्सलाई कालोसूचीमा राख्ने निर्णय तुरुन्त फिर्ता गरिनुपर्छ,’ सोसाइटीलाई लेखिएको पत्रमा उल्लेख छ, ‘प्रेस काउन्सिल नेपालले निष्पक्षता र विधिसम्मत् प्रक्रिया अपनाउनुपर्ने हाम्रो अपेक्षा छ ।’ द हिमालयन टाइम्सले प्रेस स्वतन्त्रता र निष्पक्षताका पक्षमा आवश्यक पहल गर्न भन्दै मिडिया सोसाइटीलाई आग्रह गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully