सरकार अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

The meeting of the House of Representatives was adjourned for 15 minutes after the absence of the government

काठमाडौँ — मन्त्रीहरू बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे ११ बजेबाट सुरु भएको थियो।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराए । उनले प्रतिनिधिसभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे ।

उनले भने, ‘सरकार सदनलाई हेपिरहेको छ। सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ। हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन। अहिलेसम्म सदन सुरु हुँदा समेत मन्त्री कोही पनि छैनन्। हामी समितिहरुमा, उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ। तर सरकार उपस्थित हुँदैन। नियमावलीअनुसार या बैठक चल्दैन। बन्द गरियोस्।’

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित भएको घोषणा गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully