उपत्यकामा 'सेप्टिक ट्यांंक' अभियान चलाऔं : उपप्रधानमन्त्री सिंह

बजेटमा समेट्नुपर्ने विषयबारे उपत्यकाका तीनै जिल्लाका जनप्रतिनिधिसँग छलफल

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Let's run a 'septic tank' campaign in the valley: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् । सहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुरका नगर प्रमुख र उपप्रमुखसँग छलफल गरेका हुन् ।

उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली कसरी सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने विषयमा उनले प्रमुख-उपप्रमुखले धारणा राखेका थिए ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदीलाई सफा बगाउन तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

‘उपत्यकाका बग्ने नदीलाई स्वच्छ बनाउनुपर्‍यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ, त्यसलाई हटाउन हामी सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ । अब सेप्टिक ट्यांक हरेक घरमा बनाउनुपर्छ । जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०/१५ घरको एक ठाउँमा भए पनि बनाउनुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले भने, 'उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलाई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियान जरुरी छ ।’

आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बागमती र धोबिखोलामा अर्बौं खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाउन भनिसकेको उनले बताए ।

उनले कार्ययोजना पेस गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully