संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन जरुरी : प्रधानमन्त्री ओली

फाल्गुन २७, २०८१

पर्वत पोर्तेल

It is necessary to give stability to the Federal Democratic Republic: Prime Minister Oli

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रविरोधी शक्ति सल्बलाइरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन जरुरी रहेको बताएका छन्।

कोशी प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै ओलीले गणतन्त्रको रक्षा, आवश्यकताअनुसार संविधान संशोधन र कानुनी राज निर्माण गर्नु अहिले प्राथमिकता रहेको बताए।

व्यवस्थाविरुद्ध, संविधानविरुद्ध आवाज उठेको बताउँदै ओलीले प्रश्न गरे, 'बेटर सिस्टम' के त? त्यसका लागि हामी सबै तयार छौं।' लोकतान्त्रिक बाटोबाट, कानुनसम्मत, न्यायसम्मत बाटोबाट अघि बढ्न दलहरू तयार रहेको बताउँदै नागरिक सर्वोच्चता भएको प्रणालीमाथि वक्रदृष्टि नलगाउन विरोधी शक्तिलाई चेतावनी दिए।

'संघीय लोकतान्त्रिक प्राप्त उपलब्धि रक्षा गर्नु छ। थप उपलब्धिप्राप्त गर्न अघि बढ्नु छ। रोजगारी, सामाजिक मूल्य मान्यतासँग जोड्ने र देश अघि बढाउन जरुरी छ,' ओलीले भने, 'देश अब पछि फर्किने वाला छैन।' उनले यतिबेला शान्ति र राष्ट्रिय एकता चाहिएको भन्दै त्यसका लागि एकजुट हुन जरुरी भएको बताए। उनले भने, 'विविधताबीच एकता जरुरी छ। विविधता हाम्रो सम्पदा हो।' उनले सामाजिक न्याय र समानता कायम गर्दै सामाजिक सद्भावमार्फत देशलाई एक सूत्रमा बाँध्न सकिने बताए। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने भाष्य गलत भएको भन्दै अवस्थामा पनि ठूलो परिवर्तन भएको दाबी गरे।

'कति वर्षदेखि नभएका काम केही वर्षमा गरेका छौं, असाधारण काम। विकासका दृष्टिकोणमा दूरगामी काम गरेका छौं।' सिंगो नेपाली जनतालाई सुखी बनाउन र गरिबी हटाउने र समग्र समृद्धिमा लागेको बताउँदै सुशासन र समृद्धिको बाटोमा तीव्र रूपमा लागेको बताए। विकासका लागि पूर्वाधार जरुरी रहेको बताउँदै त्यही कारण हुलाकी, मध्यपहाडी राजमार्गमा स्मार्ट सिटी बनाउने कुरालाई आफूले प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्ताधारी दलहरू एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो। विपक्षी दलहरू माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कारको चेतावनी दिएका थिए। तर, अन्तिम समयमा ती दलहरुले बहिष्कारको बाटो छाडेर सम्बोधनमा सहभागी बन्ने निर्णय गरेका थिए।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully