नेता बदल्न नखोज्या हो र ? बलबुताले भ्याएको भए मै दलको नेता हुन्थेँ : गगन थापा

'कोही आएर उहिले नेपालले धान बेच्थ्यो भन्दिन्छ, तथ्यांक पल्टाएर हेर्नुस् । उहिले नेपाल स्वर्ग थियो भन्दिन्छ कसैले, तथ्यांक पल्टाएर हेर्नुस्'

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Don't you want to change the leader? Had Balbuta gone, I would have been the leader of the party: Gagan Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाप्रति आफ्नो पार्टी पूर्ण प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार विशेष समयमा सम्बोधन गर्दै थापाले सबै मिलेर ल्याएको लोकतन्त्र जोगाउन प्रतिबद्ध रहेको बताएका हुन् । 

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि बोलेका थापाले भने, 'नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिपक्षी दलले राखेको प्रतिबद्धताप्रति कांग्रेस सराहना गर्छ । हामी सबै यो व्यवस्थाप्रति उत्तिकै प्रतिबद्ध छौँ । हामी सबै मिलेर ल्याएको यो लोकतन्त्रलाई जोगाउन संविधानको व्यवसथालाई सुदृढ गर्न उत्किकै प्रतिबद्ध छौँ ।'

त्यस्तै महामन्त्री थापाले युवा पुस्तालाई सम्बोधन गर्दै लोकतन्त्रमा जस्तो स्वतन्त्रता कुनै पनि व्यवस्थामा नपाइने बताए । शाहीकालको निरकुंशताप्रति संकेत गर्दै उनले भने, 'कुनै बेला नेपालभित्रकै कुनै ठाउँ जान भिसा चाहिन्थ्यो । रातारात कुरा गर्दागर्दै हाम्रा फोन काटियो, इन्टरेनट काटियो । सडकमा हिँड्दाहिँड्दै हामीलाई पक्राउ गरियो ।' पछिल्ला केही दशक विभिन्न राजनीतिक आन्दोलन र युद्धमा देशले महत्त्वपूर्ण समय व्यतित गरेको पनि थापाको भनाइ थियो । उनले अगाडि भने, '८० देखि ९० को दशकलाई विकास र समुन्नतिको वर्ष बनाउने होला । ८० र ९० को दशकलाई अर्को पोलिटिकल एडभेन्चरको वर्ष नबनाम् ।'

साथै राजतन्त्रमा यस्तो थियो, उस्तो थियो भनेर भ्रम फैलाइएकोप्रति पनि कांग्रेस महामन्त्री थापाले टिप्पणी गरे । उनले तथ्यांक पल्ट्याउन पनि युवा पुस्तालाई आग्रह गरे । 'कोही आएर उहिले नेपालले धान बेच्थ्यो भन्दिन्छ, तथ्यांक पल्टाएर हेर्नुस् । उहिले नेपाल स्वर्ग थियो भन्दिन्छ कसैले, तथ्यांक पल्टाएर हेर्नुस् । उहिले नेपाल असाध्यै राम्रो थियो- खानेपानी, पूर्वाधार सबैथोक थियो भन्दिन सक्छ कसैले । मैले तथ्यांक पल्टाएर हेरौँ भन्दा अहिले सबै राम्रो छ भनेको होइन,' उनले भने । 

अहिलेको भन्दा धेरै राम्रो गर्न सकिने उल्लेख गर्दै महामन्त्री थापाले भने, 'योभन्दा धेरै राम्रो गर्न सकिन्छ । त्यसैले नौजवान साथीहरूलाई मेरो आग्रह- हाम्रा अगाडि आएका अवसरहरू छोप्नुपर्ने छ । त्यसका लागि अहिलेको खुला वातावरणको मौका छोप्नुपर्ने छ । अघिल्ला ३० वर्षमा र पछिल्ला ३० वर्षमा किन भएन भन्ने कुरा केवल फ्रीडम अफ च्वाइसको कुरा हो ।'

त्यस्तै नागरिकको कुरा सुन्ने पद्दति लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष रहेको पनि महामन्त्री थापाको भनाइ छ । उनले अगाडि भने, 'लोकतन्त्रको सबैभन्दा सुन्दर कुरा भनेको नागरिकको कुरा सुन्ने हो  । जसले सुन्दैन त्यो जान्छ । दल बदल्ने बदले हुन्छ । नेता बदल्ने कुरा त हामीले नै भनेका छौँ । हामीले प्रयास गरिरहेका छौँ । मेरो बलबुताले भ्याउने भए त म अहिले दलको नेता भएर बस्थेँ । त्यसै हात उठाएर बसेको हो र ?' 

कांग्रेसले सुरुदेखि नै संवैधानिक राजतन्त्रलाई मान्दै आए पनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको थापाले बताए । 'यो कुनै एउटा घटना वा प्रतिक्रियाले मात्र कांग्रेस त्यहाँ पुगेको होइन ।२०५९ साल असोज १८  र माघ १९ को घटनाले स्वाभाविक रूपमा हामीलाई  निर्णयमा छिटो  पुग्नका लागि सहयोग गर्‍यो ।' पार्टीको अधिवेशनबाट संघीयतामा जानुपर्छ भन्ने निर्णय गर्ने पहिलो पार्टी कांग्रेस भएको पनि उनको टिप्पणी थियो । लामो अभ्यासबाट अहिलेको शासन व्यवस्था र संघीय प्रणालीमा आएको उनले बताए ।

'निर्वाचन प्रणालीमा केही कुरा बदल्न चाहन्छौँ । संघीयताको ढाँचालाई कामकाजी बनाउन चाहन्छौँ । कांग्रेसभित्र पनि भिन्नभिन्न मत रहेको छ । संविधानका आधारभूत कुराहरू चलाउन हुन्न । अरु कुरालाई सकारात्मक तरिकाले अघि बढाउन चाहन्छौँ । हामी सँगै बसेर कुराकानी गर्छौँ, माओवादी, मधेशवादी र नयाँ दलहरूसँग छलफल गरेरै संविधान संशोधन गर्न सक्छौँ,' उनले भने ।  

कान्तिपुर संवाददाता

Link copied successfully