सालक संरक्षणविद् पौडेललाई ५० हजार युरोको पुरस्कार 

कमिला र धमिरा मात्र खाने भएकाले पारिस्थितिक प्रणालीका लागि सालक अति महत्त्वपूर्ण मानिन्छ । एउटा सालकले १ वर्षमा ७ करोडभन्दा बढी कमिला र धमिरा खाने वैज्ञानिक अनुमान छ । 

फाल्गुन २७, २०८१

उपेन्द्रराज पाण्डेय

50,000 Euro award to Salak conservationist Paudel

काठमाडौँ — लामो समयदेखि सालक संरक्षणमा सक्रिय नेपाली संरक्षणविद् कुमार पौडेलले ५० हजार युरोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् । नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेलसहित ३ जनालाई 'फ्युचर फर नेचर' अवार्ड दिने घोषणा गरेको हो । 

३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीमध्येबाट संरक्षण अभियन्ताहरू पौडेलसहित एन्थोनी वाडल र रथमेरी पिल्कोलाई उक्त अवार्डका लागि छानिएको हो । एन्थोनी अस्ट्रेलिया रथमेरी पेरुमा वातावरण संरक्षण क्षेत्रमा सक्रिय छन् ।

अवार्ड आउँदो मे १६ मा नेदरल्यान्ड्समै विशेष समारोहबीच प्रदान गरिनेछ । यो अवार्ड अहिलेसम्म ३५ देशका ५४ जनाले पाएका छन् । यसअघि गत वर्ष रिन्जिन फुन्जोक लामा र सन् २०१५ मा मनोज गौतमले उक्त पुरस्कार पाएका थिए । त्यस्तै बेलायती अनुसन्धाता गेराल्डिन वेरहानले सन् २०१८ मा नेपालमै गरेको अध्ययनका लागि उक्त अवार्ड पाएकी थिइन् ।

सालक संरक्षण अभियान चलाइरहेका पौडेलले पाउने ५० हजार युरो(झन्डै ७६ लाख रुपैयाँ) आफूले चाहेअनुसारको क्षेत्रमा काम गर्न पाउनेछन् । पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएस्सी र क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका  पौडेल करिब १५ वर्षदेखि सालक संरक्षणको क्षेत्रमा सक्रिय छन् । उनी नेपालका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणमा काम गरिरहेका छन् । उनले नेपालमा वन्यजन्तु सिकार र तस्करीमा संलग्न भएका व्यक्तिहरूलाई कारागारमै भेटेर 'कोही किन वन्यजन्तु तस्कर बन्छ ?' भन्ने विषयमा अनुसन्धानसमेत गरेका थिए । उक्त अनुसन्धानबारे जानकारी दिँदै पौडेल भन्छन्, 'वन्यजन्तु अपराधमा संलग्न व्यक्तिहरूलाई मैले कारागारमै गएर भेटेँ ।'

उनीहरू किन यस्तो अपराधमा संलग्न भएका रहेछन् त ? पौडेल भन्छन्, 'उनीहरू गरिबीका कारण मात्र तस्करी र ओसारपसारमा संलग्न हुने होइन रहेछ । एक त सजिलै पैसा कमाइन्छ भन्ने सोचले रहेछ । अर्को उनीहरूलाई गैरकानुनी कार्य भन्ने थाहा छ  तर त्यसपछि पाइने सजायले पारिवारिक र सामाजिक रूपमा कस्तो असर पार्छ भन्ने आकलन नै गर्न सकेका रहेनछन् ।'  सन् २०१५ देखि २०१७ सम्म उनले १६५ जनाको अन्तर्वार्ता लिएका थिए । जसमा गैंडा, सालक, रेड पान्डा, चितुवा, बाघलगायतका वन्यजन्तुको सिकार र तस्करीमा संलग्न व्यक्ति थिए । उक्त खोज सन् २०२० मा 'कन्जरभेसन साइन्स एन्ड प्राक्टिस' जर्नलमा प्रकाशितसमेत छ । 

कछुवा, सालक, गैंडा र लौठसल्लालगायतका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणका लागि पौडेलले सन् २०१२ ग्रीनहूड नेपाल संस्था पनि स्थापना गरे । त्यस्तै उनी आईयूसीएनको सालक विशेषज्ञ समूह-एसियाका उपाध्यक्षसमेत हुन् । उनी दक्षिण एसिया र एसियामै सालक संरक्षणका लागि चालिएका विभिन्न अभियानमा सक्रिय छन् । 

किन महत्त्वपूर्ण छ सालक ?

नेपालमा कालो र तामे गरी २ प्रकारका सालक पाइन्छ । दक्षिण र दक्षिणपूर्वी एसियामा थप अन्य २ प्रजातिका सालक छन् । अफ्रिकामा अन्य ४ प्रजातिका सालक पाइन्छन् । पछिल्लो अध्ययनले थप २ प्रजातिका सालक भेटिएको भनिए पनि प्रमाणित भने हुन बाँकी छ । झट्ट हेर्दा उस्तै देखिए पनि तौल, रंग र शरीर ढाक्ने खबटाको आकारका आधारमा भने फरक हुने पौडेल बताउँछन् ।

50,000 Euro award to Salak conservationist Paudelतस्बिर सौजन्य : कुमार पौडेल

सालकलाई आईयूसीएनले यसलाई विशेष संरक्षण नगर्ने हो भने निकट भविष्यमै लोप हुनेसक्ने भनेर संकटापन्न सूचीमा समावेश गरेको छ ।  सालक नेपालको संरक्षित वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०७३ अनुसार सालक मार्ने, खरिद–बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

सालक विश्वमै सबैभन्दा बढी तस्कर हुने स्तनधारी जनावर भएको संरक्षणविद् कुमार पौडेल बताउँछन् । साथै कमिला र धमिरा मात्र खाने भएकाले पनि पारिस्थितिक प्रणालीका लागि सालक अति महत्त्वपूर्ण मानिन्छ ।

एउटा सालकले १ वर्षमा ७ करोडभन्दा बढी कमिला र धमिरा खाने वैज्ञानिक अनुमान छ । यसले प्रकृतिमा कमिला र धमिला खाएर पारिस्थितिक उर्बर बनाउन भूमिका खेल्ने पनि पौडेलले बताए । 'भर्खरै चीनमा वैज्ञानिकहरूको एउटा अनुसन्धान प्रकाशित भएको छ । उक्त अनुसन्धानले डढेलोपछि वनलाई पुनर्जीवित गर्न सालकले ठूलो भूमिका खेल्ने खुलाएको छ । डढेलोपछि पनि पनि सालकले दुलो खनेर माटोलाई उर्बर बनाउन सहयोग गर्छ जसले गर्दा नयाँ बिरुवा उम्रन सजिलो हुन्छ । जनावरलाई बस्न सजिलो हुन्छ,' उनी भन्छन् । 

किन हुन्छ सालकको तस्करी ? 

सन् २०२३ को डिसेम्बरमा संखुवासभाको किमाथांका क्षेत्रबाट ठूलो परिमाणमा सालकको खबटा बरामद भएको थियो । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट करिब २०८ किलो सालकको खबटा बरामद भएको थियो । उक्त खबटाका लागि लगभग ३५० सालक मारिएको हुन सक्ने पौडेलले बताए । खबटासहित २ जना पक्राउ परेका थिए । केही दिनअघि काठमाडौंको माछापोखरीबाट समेत सालकको खबटासहित २ जना पक्राउ परेका थिए । 

सालकको खबटा केराटिन(नङ र कपालमा पाइने तत्व)बाट बनेको हुन्छ । चीनमा प्राकृतिक औषधि विज्ञानमा सालकको खपेटा प्रयोग हुने गरेकाले संसारभर माग बढेको पौडेलको भनाइ छ ।  संसारभरबाट सिकार भएर औषधीय प्रयोगका चीन नै पुर्‍याउने गरिएको छ ।

पौडेल आफैं पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र इन्टरपोलसँग मिलेर सालकको अन्तर्राष्ट्रिय तस्करी कसरी कम गर्ने भन्नेमा केन्द्रित छन् ।  नेपालमा ५० भन्दा बढी जिल्लामा सालक भेटिएका छन् । खासगरी पाखोबारी, भिरालो जमिन, रातो माटो, कमिला र धमिरा हुने ठाउँ र समुद्री सतहदेखि २५ सय मिटर सम्मको उचाइमा भेटिने गरेको छ । 

उपेन्द्रराज पाण्डेय पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully