आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — सोमबार कान्तिपुरमा काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारीदेखि विदेशी मुद्रा सञ्चितिमा फेरि रेकर्ड कायम भएकोसम्मका समाचार प्रकाशित भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ । शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।

त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । 

त्यसैगरी मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले फेरि नयाँ रेकर्ड बनाएको छ । गत माघमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १६।१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

त्यस्तै राप्रपाले काठमाडौं महानगरलाई १ लाख रुपैयाँ जरिवाना बुझाएको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशालालगायत क्षेत्रमा फोहोर गरिएको भन्दै काठमाडौं महानगरले आइतबार राप्रपालाई जरिवाना तोकेको थियो । काठमाडौं महानगरले तोकेको जरिवाना राप्रपाले बुझाएको छ । राप्रपाले आज  महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो ।

त्यस्तै अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले रूससँगको युद्ध अन्त्यका लागि युक्रेन अमेरिकी मागप्रति सकारात्मक देखिएको जनाएका छन् । रुससँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकी अधिकारीहरूबीच मंगलबार साउदी अरबमा महत्त्वपूर्ण वार्ता हुँदैछ । वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज मंगलबार नै साउदी अरब जाँदैछन् ।

कान्तिपुर

Link copied successfully