काठमाडौँ — दाङदेखि काठमाडौँ आएर ३७ दिनदेखि धर्नारत स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू बिरामी पर्न थालेका छन् । सडकमा धर्ना बस्दा बस्दै बिरामी भएपछि तीन जना अस्पताल भर्ना भएका छन् । अरू कोहीलाई ज्वरो र रुघाखोकीले सताएको छ।
धर्नामा बसेका उनीहरूमध्ये केहीलाई ज्वरो, रुघाखोकी लगायतका लक्ष्यणहरूसहित बिरामी भएको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङका सहसचिव प्रविण दहितले बताए ।
दाङका ३९ जना मोही किसान माघ २० देखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा छन्। स्वर्गद्वारी आश्रमको जग्गामा मोही हक कायम भएका किसानहरू जग्गामा अधिकार माग गर्दै काठमाडौं आएर धर्ना दिइरहेका हुन्। लामो समयसम्म चिसोभुइँमा आन्दोलन गर्दै आएका उनीहरू बिरामी पर्न थालेका हुन ।
‘हिजो एक जना साथी सावित्रा चौधरी धर्नाकै क्रममा लड्नुभयो। अहिले उहाँ अस्पताल भर्ना हुनुहुन्छ।’ दहितले भने,‘ ज्वरोले थप दुई साथीहरू अस्पतालमा हुनुहुन्छ । ९ जना साथीहरू भने सामान्य चेकजाँचपछि आराम गरिरहनु भएको छ।’
लामो समय घोराहीमा आन्दोलन गरेका उनीहरूको माग सुनुवाइ नभएपछि केन्द्र सरकारलाई दबाब दिन काठमाडौँ आएका हुन्। दहितले भने, ‘काठमाडौँमा आएपछि बहसको विषय बन्छ, सरकारले नजिकबाट हेर्छ र कानुन निमार्णमा समेत सहयोग पुग्छ भनेर काठमाडौँ आएका हौँ । तर साथीहरू बिरामी पर्न थाल्नुभयो ।’
सरकारले वार्ता गरेर माग पूरा गर्ने आश्वासन दिएर नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएपनि उनीहरूको माग पूरा भएको छैन । यसपटक माग पूरा गरेर मात्र फर्कने उनीहरूको तयारी छ ।
सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश दिएको छ। तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हकसमेत कायम रहेको प्रमाण पुर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै किसानहरू आन्दोलित छन्।
२०६२ चैत १४ गते सर्वोच्च अदालतले ‘स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू’ भनी परमादेश जारी गरेको थियो ।
स्वर्गद्वारी आश्रमका विषयमा सर्वोच्च अदालतबाट फैसलासमेत भएकाले सबै गुठीलाई एउटै नजरले नहेरी गुठी विधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । विरोधका कारण रोकिएको विधेयकमा स्वर्गद्वारी गुठीको जग्गामा मोहियानी हक स्थापित गर्नुपर्ने र सोही अनुसार जग्गा बाँडफाँट हुनुपर्ने आन्दोलनरत किसानहरूको माग छ ।
