रौतहट — प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावट र छलीका घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् । रौतहटको सदरमुकाम गौरमा सोमबार जिल्ला प्रहरी कार्यालय भवन उद्घाटनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले सीमाक्षेत्रमा हुने राजस्व चुहावटको घटना प्रमुख चुनौतीका रूपमा रहेको बताएका हुन् ।
‘यस्ता घटना रोक्न प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन,’उनले भने,‘सबै नागरिकको पनि दायित्व हुन आउँछ । प्रहरीलाई सबैको साथ सहयोग आवश्यक छ ।’ उनले जिल्लामा बेलाबेलामा हुने धार्मिक, सामाजिक मतभेद, जघन्य अपराधका घटना, लागूऔषध, आत्महत्या, महिला बालबालिकाविरुद्धको कसुरलगायतका घटना पनि चुनौतीकै रूपमा रहेको बताए ।
कुँवरले नागरिकसँगको सम्बन्ध सुमधुर राख्न र सेवाग्राहीको कामलाई प्राथमिकताको केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिए । मधेश प्रदेशमा ३ सय ९५ वटा प्रहरी युनिट रहेकोमा १ सय वटाको अर्काको जग्गामा बसेको उनले जानकारी दिए ।
मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने र अपराधको सबालमा कसैसित सम्झौता नहुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरले पछिल्लो समय जिल्लामा शान्ति सुरक्षा र अपराधका घटनामा कमी आएको दाबी गरे ।
