रोजगारी आकाशबाट झर्ने होइन, उद्यमशीलताको विकास गरौँ : प्रधानमन्त्री ओली 

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Jobs will not fall from the sky, let's develop entrepreneurship: Prime Minister Oli

काठमाडौँ — ‍प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारी त्यतिकै आकाशबाट झर्नेवाला नरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास बिना रोजगारी सिर्जना नहुने बताए।

'रोजगारी प्रवर्द्धन दशक गर्ने भनिरहेका छौं । रोजगारी प्रवर्द्धन कसरी हुन्छ ? रोजगारी कहाँबाट र कसरी प्राप्त गर्ने ?,' उनले भने, 'रोजगारी आकाशबाट झर्नेवाला छैन। उद्यमशीलताको विकास बिना रोजगारी सिर्जना हुँदैन ।' सबैले जागिर मात्रै खोज्ने भए कसले दिने भन्दै ओलीले प्रश्न गरे ।

'सरकारी जागिर सीमित छ । कहिले को रिटायर होला र खाली होला भन्ने स्थिति छ,' उनले भने, 'एउटा ठाउँ खाली हुँदैमा लोकसेवाले विज्ञापन निकाल्दैन ।' प्रत्येक वर्ष साढे चार लाख मानिस रोजगारीको खोजीमा श्रम बजारमा आउने उनले बताए ।

'रोजगारीका अवसरहरु सिर्जना नगरी हुँदैन, त्यसका लागि उद्यमशीलताबाट प्राप्त हुन्छ,' उनले भने, 'जागिर खान्छु नभई आँफै केही गर्छु भन्नेतर्फ लाग्नु पर्छ ।' रोजगारीका अवसरहरु सिर्जना गर्न सरकारभन्दा बढी क्रियाशील निजी क्षेत्र हुनुपर्ने उनको भनाइ छ। 'निजी क्षेत्रको असाधारण महत्व छ । निजी क्षेत्रले अर्थतन्त्रको नेतृत्व गर्छ,' उनले भने । 

कान्तिपुर

Link copied successfully