काठमाडौँ — उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रमा जननिर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन्।
सोमबार नयाँ बानेश्वरमा रहेको शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र नागरिकसमेत मिलेर काम गरेमात्रै विकास निर्माणका काममा सहज हुने बताए। उनले तीनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए।
‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन । जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ । जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए । ‘राजनीतिमा आएको ठुलो मान्छे बन्न होइन । पदमा भएपनि नभएपनि केही छैन । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उनले भने।
