किन हौसिए पूर्वराजा ज्ञानेन्द्र ?

विश्‍लेषकहरु भन्छन् –पूर्वराजा हौसिएका हुन् तर गणतन्त्र कमजोर भएको होइन

फाल्गुन २५, २०८१

कुलचन्द्र न्यौपाने

Why did former king Gyanendra get angry?

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह ‘हौसिएर’ सडकमा निस्किरहेका बेला गणतन्त्रवादी नेताहरु भने उनको अभियानलाई लिएर आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरु शाहको सक्रियतालाई लिएर एकठाउँमा आएका मात्रै छैनन्, एउटै आवाजमा प्रतिरोधसमेत गरिरहेका छन् ।

सडकदेखि सदनसम्म सत्ता र प्रतिपक्षका नेताहरुले दिइरहेका अभिव्यक्तिले के मुलुक फेरि अर्को संकटको भूमरीमा फस्दै त छैन ? वा पूर्वराजा ‘शाह’ कुनै शक्तिको आडमा हौसिएका हुन् भन्ने प्रश्न आम नागरिकमा उब्जेको छ ।

पेसागत संघसंस्थाका नेता र विश्लेषकहरु राजावादीहरुको अभियानले गणतन्त्रवादी नेताहरुलाई सचेत बनाउने काम गरे पनि मुलुकमा व्यवस्था नै परिवर्तन हुने अवस्था भने संभव नहुने बताउँछन् । पोखराबाट काठमाडौं आउँदा शाहको स्वागतका लागि राजावादीहरूले गरेको सडक प्रदर्शनले नेताहरु सच्चिएर जानुपर्ने पाठ भने दिएको उनीहरुको भनाइ छ ।

सरकारको अस्थिरता, सुशासन र डेलीभरीका मुद्दामा राजनीतिक दलहरु गम्भीर नबन्दाको परिणाम नै राजावादीहरु हौसिनुको प्रमुख कारण रहेको पूर्व प्रमुख निर्वाचन आयुक्त तथा विश्लेषक भोजराज पोखरेल बताउँछन् । ‘अब पनि गल्तीहरु नसच्याउने, अझै गल्ती दोहोर्‍याउँदै जाने, सुशासन र सार्वजनिक सेवालाई बेवास्ता गर्दै जाने हो भने राजनीतिक दलका नेताहरुले धेरै अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने हुन्छ,’ उनले भने,‘सरकारले अहिले गर्नुपर्ने मुख्य काम भनेकै सुशासन र न्यायपूर्ण सेवाको कामलाई प्रभावकारी बनाउने हो ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे गणतन्त्रमाथि संकट आएको नभई पूर्वराजा शाह कसैको उक्साहटमा हौसिएको बताउँछन् । जनआन्दोलनबाट स्थापित संसद्‌को वैधताबाट उखलिएको राजतन्त्र यस्ता एक/दुई घटनाले फर्कन नसक्ने र गणतन्त्र कमजोर नहुने तर्क उनको छ । ‘राजतन्त्र फालिएका अन्य मुलुकमा राजालाई राजनीति गर्न इच्छा लागेमा वैधानिक ढंगबाट राजनीतिक दल खोलेर आउँछन् । पूर्वराजा शाहलाई पनि त्यो छुट संविधानले नै दिएको छ । अहिले सडकमा शाहको जस्तो गतिविधि देखियो, त्यो राजनीतिक गर्ने अभिलाषाबाट प्रेरित छ,’ उनले भने,‘संविधानसभाबाट जारी भएको संविधानको खिलापमा अर्को व्यवस्थाको वकालत जति गरे पनि त्यो पूरा हुन संभव छैन । बरु, राजनीतिक दल खोल्दा राम्रो हुन्छ ।’ 

राजावादीहरुको अभियानमा सडकमा देखिएको नागरिकको असन्तुष्टि भने मुलुकमा व्याप्त कुशासन र देशको बिग्रो अवस्थाको कारण रहेको उनको पनि ठम्याई छ । ‘एउटै व्यक्तिहरु लामो समय शासनमा बस्ने, देशको आर्थिक सबल हुन नसक्ने, सुशासन कायम नहुने, युवा पंक्ति विदेश पलायन हुने जस्ता कारणले पनि सडकलाई मलजल गरेको छ,’ उनले भने,‘आम नागरिकले नेता र दलको विकल्प खोज्न सक्छन् तर गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई तीन कारणले पूर्वराजा शाह सडकमा हौसिएर हिँड्न थालेको बताउँछन् । उनका अनुसार पहिलो कारण नै सुशासनको हो । ‘प्रमुख राजनीतिक दलका नेताहरु सत्ता प्राप्तिका लागि व्यवस्थाविरोधी शक्तिलाई समेत भित्रभित्र मलजल गरिरहेका छन् । यसको असन्तुष्टि कहिले बालेन भएर प्रस्फुटित भएको छ त कहिले गोपी हमाल र हर्क साम्पाङ भएर प्रस्फुटित भएको छ,’ उनले भने,‘अहिलेको असन्तुष्टि ज्ञानेन्द्र शाह भएर प्रस्फुटित भएको मात्रै हो, संविधान र कानुनबमोजिम राजतन्त्र स्थापना हुने कुनै संभावना छैन । त्यो शक्ति त्यो रुपमा बलियो पनि छैन । निराशाको फाइदा उठाएका मात्रै हुन् ।’

पटक–पटक सत्ताका लागि हानथाप गर्ने, ०४८ सालदेखिकै राजनीतिक दलको नेतृत्व नै सत्ताको केन्द्रमा रहने, सरकारमा गएपछि जनअपेक्षाको कामभन्दा पनि बरालिएर व्यक्ति र दलको स्वार्थमा अघि बढ्ने जस्तो प्रवृत्तिले आम नागरिकमा नैराश्यता बढाएको धेरैको तर्क छ । यस्तो प्रवृत्तिबाट सच्चिन नेताहरुलाई खबरदारी गर्ने काम भने राजावादीहरुले गरेको बुझाई विश्लेषक तुलानारायण साहको तर्क छ । तर, यत्तिकै कारण व्यवस्था र गणतन्त्रका लागि लडेका राजनीतिक शक्तिहरुलाई कमजोर भएको भनेर आँक्न भने नहुने उनी बताउँछन् ।

आइतबार पोखराबाट राजा आउँदा एयरपोर्टमा देखिएको प्रदर्शनले छरिएका राजावादी दल र हिन्दुवादी संघ संगठनहरु संगठित हुन खोजिरहेको आभास दिएको साह बताउँछन् । प्रदर्शनकारीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर अंकित प्लेकार्ड बोकेकाले पनि पूर्व राजाको सक्रियताप्रति हिन्दुवादी संघ संगठनहरुको पनि गठजोड भएको आशंका उनमा छ । ‘राजा फर्काउनुपर्छ भन्ने साना–साना शक्तिहरु संगठित भएको जस्तो देखिन्छ र यसका पछि कुनै नै कुनै शक्तिले काम गरिरहेको आभास हुन्छ,’ साहले भने,‘गणतन्त्र संकटमा जाने अवस्था नभए पनि देशमा कुनै न कुनै खालको अराजकता ल्याउन संकेत देखिन्छ । यसलाई गणतन्त्रवादी राजनीतिक दलहरुले गम्भीर ढंगले सोच्नुपर्ने देखिन्छ ।’

तर, वाम विश्लेषक खगेन्द्र प्रसाई भने भारतको आडमा नै पूर्वराजा शाहको गतिविधि बढेको आइतबारको घटनाले पुष्टि गरेको दाबी गर्छन् । राजालाई स्वागत गर्न सडकमा लामबद्ध भएका प्रदर्शनकारीहरुले माथि योगीको तस्बिर राखेर ‘राज संस्था पुन:स्थापना गरौं,’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त प्लेकार्डको तलपट्टी ‘हिन्दुवादी प्रदीप विक्रम राणा’को नाम लेखिएको थियो ।

उनले भारतको एउटा शक्तिले नेपालका गणतन्त्रवादीलाई घुँडा टेकाउन र आफूले भनेजस्तो संझौता गराउन बाध्य पार्ने नियतबाट सडक प्रदर्शनलाई साथ दिन खोजेको दाबी गरे ।

‘भारतीय संस्थापन पक्ष नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ । हिन्दु राज्य भयो आफ्नो भूमिका र प्रभाव बढ्छ भन्ने उनीहरुले ठानेका छन । आजको जुलुसले पनि त्यस कुरालाई पुष्टि गरेको छ,’ प्रसाईंले भने,‘भारतको हिजोको जस्तो हस्तक्षेपकारी भूमिका कमजोर भएको छ । त्यसैले हरेक उथलपुथलमा भारतले आफ्नो प्रभाव छाड्न चाहन्छ । तर, भारतले के बुझ्नुपर्छ भने आजको नेपाल हिजोको जस्तो भारतीय संस्थापनको प्रत्यक्ष निगरानीमा चल्न सक्दैन । नेपालमा भारतको मात्रै होइन, चीनको पनि प्रभाव छ, अमेरिकाको छ ।’ उनले राजावादीहरुले एकदिन प्रदर्शन गर्दैमा गणतन्त्र कमजोर नहुने बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर प्रयास गरेपनि नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । ‘गइसकेको राजतन्त्र आउने कुनै संभावना छैन, अहिलेको युवा पुस्ता फालिएको राजतन्त्र ल्याउने पक्षमा छैन’ उनले भनिन,‘केही पुराना सोच भएका राजावादी र उच्छृंखल व्यक्तिहरुको उक्साहटमा भएको सडक प्रदर्शनले गणतन्त्र कमजोर हुने कुरा हुन सक्दैन ।’

विभिन्न गुट र चिरामा विभक्त राजावादी दल, व्यक्ति र संस्थाको सयुक्त आयोजनमा भएको पूर्व राजा शाहको स्वागमा उपस्थित जनप्रदेर्शनले राजावादीहरुलाई हौसला दिएको छ । गाडीमा रहेका पूर्व शाह भीडको बीचबाट अभिवादन गर्दै निर्मल निवास पुगेका थिए । केही दिनदेखि सहरका विभिन्न ठाउँमा राजावादीहरुको गतिविधिलाई सुष्म ढंगले नियालिरहेका छन । माओवादीले हुलाकी सडक केन्द्रित मधेस जागरणको कार्यक्रम समेत यसैका कारण स्थगित गर्न पुगेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकले पूर्व राजा शाहको गतिविधिबाट उठेका प्रश्नको प्रतिवाद गर्दै आएका छन् । सदुरपश्चिमको कार्यक्रममा रहेका प्रधानमन्त्री ओलीले आइतबारनै  ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ पूर्व राजा शाहलाई चेतावनी दिएका छन ।

‘म भन्न चाहन्छु, यदि कसैले अराजकताकै बाटो हिँडेर कसैले केही हत्याइहाल्छु केही प्राप्त गरिहान्छु भन्ने सपना देखेको छ भने, त्यस्तो सपना नदेख्दा राम्रो,’ आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले भने,‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो ?,’ कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ?, मानिदिनु परेन ?, अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ।?’

यता प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी अध्यक्ष दाहालले भने पूर्व राजावादीहरुको गतिविधिलाई संकेत गर्दै पार्टीको अभियान रोकिनुपरेको बताएका छन । ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ दाहालले भने ।

गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको र भ्रममा राजा हौसिन आवश्यक नभएको बताए । ‘आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरु उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ, जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन म आग्रह गर्छु’ आइतबार विहान सुर्खेतमा बोल्दै लेखकले भने,‘यसलाई कमजोरीका रुपमा नलिन पूर्वराजा शाहलाई आग्रह गर्छु ।’ 

कुलचन्द्र न्यौपाने

Link copied successfully