गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैन : गृहमन्त्री लेखक

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

There is no need for the former king to be under the illusion that the monarchy is an alternative to the republic: Home Minister writer

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको बताएका छन् । 

आइतबार बिहान सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको बताए । र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको उनको भनाइ थियो । 

उनले भने, ‘केही मानिसहरुले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन ।’

उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरु उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह गरे । यसलाई कमजोरीका रुपमा नलिन पूर्वराजा शाहलाई गृहमन्त्री लेखकले चेतावनीसमेत दिए ।

उनले भने, ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिस्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रुपमा कसैले पनि नलियोस् ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully