घिसिङलाई स्पष्टीकरण सोधेको विषय प्रधानमन्त्री कार्यालयको बनिसक्यो : मन्त्री खड्का

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

The issue of asking Ghisingh for an explanation has become the Prime Minister's Office: Minister Khadka

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बताएका छन् ।

मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेकाले जवाफ पनि मन्त्रिपरिषद् कार्यालयमा नै पठाइएको मन्त्री खड्काले बताए । मन्त्रिपरिषद्को निर्णयको आधारमा ऊर्जा मन्त्रालयले सोधेको तीनदिने स्पष्टीकरणको जवाफ घिसिङले आइतबार बुझाएका थिए ।

ऊर्जामन्त्री खड्काले घिसिङबाट प्राप्त भएको जवाफ आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको जानकारी दिए । 

घिसिङको स्पष्टीकरण ऊर्जा मन्त्रालय मात्रै नभई मन्त्रिपरिषद्कै विषय बनेको पनि मन्त्री खड्काले बताए । 'कुलमान घिसिङको स्पष्टीकरण र जवाफ अहिले त क्याबिनेटको विषय हो । सिधै क्याबिनेटमा जान्छ । क्याबिनेटले के गर्छ हेरौं । मन्त्रालयलाई सोध्ने अधिकार दिएको हो,' उनले भने, 'उहाँको जवाफ प्राप्त भयो ।'

मन्त्रिपरिषद्को बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई दिएको थियो । सोही आधारमा सोधिएको स्पष्टीकरणको जवाफ घिसिङले आइतबार बुझाएका थिए ।

ऊर्जामन्त्रीले बदनियत राखेर स्पष्टिरण सोधेको, मन्त्रिपरिषद्लाई नै गुमराहमा राखेको र संसद्मा पनि विद्युत् प्राधिकरणका सम्बन्धमा झुटो बोलेको घिसिङको जवाफमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully