महामन्त्री थापाले कार्यकारी निर्देशक घिसिङबारे थाहा नभएर अभिव्यक्ति दिनुभयो होला : मन्त्री खड्का

'मैले पनि उहाँको कुरा सुनेँ, घिसिङको बारेमा थाहा नभएर उहाँले अभिव्यक्ति दिनुभयो होला । महामन्त्री भइसकेपछि घिसिङको बारेमा केही कुरा आयो होला, त्यहाँ केही कुरा उठ्यो होला र आफ्नो धारणा राख्नुभयो होला'

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Chief Minister Thapa may have made the statement without knowing about Executive Director Ghisingh: Minister Khadka

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा थाहा नभएर अभिव्यक्ति दिएको हुनसक्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बताएका छन् ।

घिसिङलाई हटाउन सरकार नै लागिरहेको र मन्त्री खड्काले बेढंगको काम गरिरहेको भनी कांग्रेस महामन्त्री थापाले अभिव्यक्ति दिएका थिए । 

पार्टी महामन्त्री थापाले कार्यकारी निर्देशक घिसिङका सम्बन्धमा दिएको अभिव्यक्तिबारे कान्तिपुरले सोधेको प्रश्नको जवाफमा मन्त्री खड्काले भने, 'मैले पनि उहाँको कुरा सुने । घिसिङको बारेमा थाहा नभएर उहाँले अभिव्यक्ति दिनुभयो होला । महामन्त्री भइसकेपछि घिसिङको बारेमा केही कुरा आयो होला, त्यहाँ केही कुरा उठ्यो होला र आफ्नो धारणा राख्नुभयो होला,' मन्त्री खड्काले भने । 

घिसिङका सम्बन्धमा कांग्रेस महामन्त्रीसँग आफ्नो कुनै छलफल नभएको मन्त्री खड्काले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो मन्त्रालयको कामका विषयमा जानकारी गराउँदै आएको र घिसिङको विषयमा पनि त्यसरी नै काम भएको मन्त्री खड्काले बताए । 'मैले त आफ्नो मन्त्रालय मातहतमा रहेका सबै कुरा जानकारी गराउने प्रधानमन्त्रीलाई र पार्टी सभापतिलाई हो । प्रधानमन्त्री र पार्टी सभापतिलाई यो विषय (कुलमान घिसिङको सम्बन्धमा) जानकारी गराएको छु, भए गरेका कुरा जानकारी गराएको छु,' उनले भने । 

शनिबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५ महिना कार्यकाल रहेका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले किचकिच गरिरहेको अभिव्यक्ति दिएका थिए । उनको कार्यकाल सकिएपछि अर्को व्यक्ति नियुक्ति गर्नुपर्नेमा एक व्यक्तिको पछाडि सरकार लागिरहेको भान भएको थापाको भनाइ थियो ।

उनले भनेका थिए, ' 'ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । कार्यकारी निर्देशक प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ? ढंग नपुगेको बेढंग हो ? तीन-चार महिनामा सेवा निवृत हुने, सेवा निवृत भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच गरिरहेको देखिन्छ । यस्ता कुरा ठीक होइन, उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु हुँदैन ।'

महामन्त्री थापाले भने- कुलमानसँग सरकारले किचकिच गर्नु ठीक होइन  

मन्त्रीले गल्ती गरेमा प्रधानमन्त्रीले रोक्नुपर्ने बताउँदै थापाले भनेका थिए, 'मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको क्याबिनेटको मास्टर हो, उसले राम्रो कामको श्रेय पनि पाउँछ र नराम्रो कामको अपजस पनि लिनुपर्छ ।' 

मन्त्री खड्काले भने कसैले गलत गरेमा पाँच महिना हैन एक महिना कार्यकाल भएपनि हटाउन सकिने बताए । 'गलत भयो कि भन्ने लाग्यो भने महिनाको कुरा होइन घण्टाको कुरा पनि हुनसक्छ,' उनले भने ।

त्यस्तै, घिसिङलाई कारबाही गर्ने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको पनि मन्त्री खड्काले बताए ।  

कान्तिपुर

Link copied successfully