'विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानिए कानुनी उपचारमा जान बाध्य हुने'
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले रेक्टर र डिन कार्यालयमा तोडफोड गर्नेहरूमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
तोडफोडमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिविले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।
‘कुनै माग वा समस्या भए विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट समाधान गर्न सदैव तयार छ,’ त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, पदाधिकारी, शिक्षक, तथा कर्मचारीलाई आंतकित गर्ने कार्य भएमा खुला रुपमा कानुनी उपचारका लागि सम्बन्धित संस्थामा जान विश्वविद्यालय बाध्य हुनेछ ।’
विद्यार्थी समूहका नाममा त्रिविमा पटकपटक तोडफोड लगायतका गतिविधि हुँदै आए पनि विश्वविद्यालय र गृह प्रशासनले अहिलेसम्म कानुनी दायरामा ल्याउन सकेका छैनन् । तोडफोडमा संलग्नहरुले उन्मुक्ति पाउँदै आएकाले यस्ता घटना दोहोरिँदै आएको त्रिविका प्राध्यापकहरु बताउँछन् ।
शनिबार रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा विद्यार्थीको एक समूहले तोडफोड गरेको थियो । सत्तारुढ कांग्रेस निकट नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच जनाको समूहले कीर्तिपुरस्थित रेक्टर र डिनको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
सीसीटीभी फुजेटमा उनीहरुसहित ५ जना संलग्न रहेको देखिन्छ । प्रहरीले घटनाको सीसीटीभी फुटेज लगे पनि कारबाही प्रक्रिया अघि नबढाएको रेक्टर र डिन कार्यालयले जनाएको छ । घटनालगत्तै प्रहरी वृत्त कीर्तिपुरका डीएसपी डिन र रेक्टर कार्यालय पुगेर तोडफोडका विषयमा जानकारी लिएका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहाराले कुर्सीहरु तोडफोड भएको सामान्य जानकारी प्राप्त भएको बताए । ‘कारबाहीका लागि औपचारिक निवेदन आएको छैन, घटनाका बारेमा आधिकारिक उजुरी नआएसम्म कानुनी रुपमा अघि बढ्न प्रहरी मिल्दैन,’ उनले भने, 'सामान्य विवाद भएको र कुर्सी तोडफोड भएको जानकारी पाएका छौं ।
रेक्टर र डिन कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज र सोफामा क्षति पुगेको कर्मचारीहरुको भनाइ छ ।
त्रिविले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई बिथोल्ने उद्देश्यले तोडफोड भएको जनाएको छ । तोडफोडका विषयमा स्ववियु निर्वाचन हेर्ने प्रहरीको हेडक्वार्टरमा रहेको सेललाई समेत जानकारी गराए पनि कुनै कारबाही नभएको पदाधिकारीहरुको गुनासो छ ।
‘कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीलाई आंतकित गर्दै रेक्टरको कार्यालय र डिन कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट तोडफोड गर्ने कार्य भयो सो कार्य क्षम्य नहुने अपराध हो भन्ने विश्वविद्यालयको ठहर छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
तोडफोडबारे अनेरास्ववियुले पनि विज्ञप्ति जारी गरेर भर्त्सना गरेको छ । अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै रेक्टर र डिन कार्यालयमा भएको तोडफोडको विरोध र भर्त्सना गरेका हुन् ।
‘तोडफोडमा संलग्न अराजक जत्थालाई तत्काल प्रक्राउ गरी कानुनी कठघरामा ल्याउन र जुनसुकै परिस्थितिमा स्ववियुको निर्वाचनको सुनिनिश्चताको लागि अनेरास्ववियु माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिएपछि नेविसंघ त्रिवि इकाइ समितिले विज्ञप्ति निकालेर तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको दाबी गरेको छ । इकाइ सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा संगठनबाट आधिकारिक निर्णय वा निर्देशन नभएको उल्लेख छ ।
संगठनलाई आरोप लागेपछि नेविसंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरेर निष्पक्ष छानबिनको माग राखेको छ । प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर स्ववियु चुनाव सुनिश्चित हुनुपर्ने समेत जनाएका छन् ।
