भाडाको टहरामा सञ्चालित आश्रयस्थलमा सडकबाट उद्धार गरेर आश्रय दिइएका हरिजन, आकाश र सुमन सुन्न र बोल्न सक्दैनथे । बिहीबार राति खाना खाएर सुतेका उनीहरूलाई सुतेकै ठाउँमा टिपरले किचेपछि अब फेरि बिहानको सूर्योदय हेर्न नपाउने गरी अस्ताएका छन्
काठमाडौँ — ४५ वर्षीय हरिजन र २१ वर्षीयद्वय आकाश र सुमनले सुन्न र बोल्न सक्दैनथे । तर देख्न सक्थे । बिहीबार राति खाना खाएर सुतेका उनीहरूलाई सुतेकै ठाउँमा टिपरले किचेपछि अब फेरि बिहानको सूर्योदय हेर्न नपाउने गरी अस्ताएका छन् ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपालको टहरामा अनियन्त्रित भएर छिरेको टिपरले किच्दा शुक्रबार बिहान उनीहरूको मृत्यु भयो ।
शंखरापुर नगरपालिका–६ साँखुको सलम्बुटारमा द्वन्द्वपीडित तथा अपांग समाज नेपालद्वारा सञ्चालित संस्थामा २२ महिला र ३२ पुरुष सहित ५४ जना बस्दै आएका थिए । संस्थाका अध्यक्ष युवराज थापा र यहाँ काम गर्ने कर्मचारीहरू पनि यही बस्छन् । अध्यक्ष थापा आफैँ अपाङ्गता भएका व्यक्ति हुन् । उनका दुवै खुट्टा छैनन् ।
स्नातकसम्म पढेका उनले अपाङ्गताकै कारण कसैले सास्ती र दुख नहोस् भन्ने उद्देश्यले त्यस्ता मानिसहरूको हेरचाह र सेवा दिन २०६२ सालमा यो संस्था स्थापना गरेका थिए । सुरुका दिनमा २५ प्रतिशत द्वन्द्वबाट प्रभावित मानिसहरू राख्ने भन्ने थियो । पछि सरकारकै सहकार्यमा सबै खाले अभिभावकविहीन मानिसहरूलाई पनि राख्न थालिएको हो ।
‘बाल अधिकार परिषद्, बालबालिका खोजतलास केन्द्र र प्रहरी मार्फत यो संस्थामा घर ठेगाना नभएका मानिसहरू आउँछन्,’ थापाले भने’, ‘आज मृत्यु भएका हरिजनलाई गत मंसिरमा, आकाशलाई उदयपुरबाट २०६८ सालमा र सुमनलाई नवलपरासीबाट २०७१ सालमा यस संस्थामा ल्याइएको थियो।’
उनका अनुसार आश्रम संचालनको अवधिमा २१ जनाको स्वभाविक मृत्यु भए पनि दुर्घटनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । शुक्रबार दुर्घटना भएको टहरामा एक कमचारी सहित १० जना मात्र सुतिरहेका थिए । यहाँ बस्ने कसैको पनि घर, ठेगाना र अभिभावक आश्रमबाहेक अरु कोही छैन। थापाले भाडाको जमिनमा सामाजिक व्यक्तिहरूको सहयोगमा संस्था संचालन गर्दै आएका छन् । वार्षिक रुपमा सरकारले भने यो संस्थालाई ६ लाख रुपैँया मात्र सहयोग गर्छ ।
कसरी भएको थियो दुर्घटना ?
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार निर्माण सामाग्री लिन मेलम्ची जाँदै गरेको बा २ क ६५८० नम्बरको खाली टिपर शुक्रबार बिहान करिब ३ः४० बजे साँखु ब्रम्हखेल सडक खण्डमा अनियन्त्रित भएर टहरामा ठक्कर दिएको थियो ।
‘टिपर दुर्घटना भएको ठाउँमा बाटो थोरै घुमाउरो थियो । बिजुलीको पोललाई ठक्कर दिँदै टहरामानै टिपर छिरेको छ,' बोहराले भने, ‘एक जनालाई टिपरको चक्कालेनै किचेको रहेछ भने दुई जना टिपरको ठक्करबाट उछिटिएका थिए । त्यही टहरामा थप ७ जनालाई सिलिङ खसेर किचेको थियो । तर कुनै चोट भने लागेको छैन।’
प्रहरीले चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार चालक निदाएका कारण दुर्घटना हुनसक्ने अनुमान गरिएको छ।
घटनापछि विक्षिप्त थापा सरकारलेनै संरक्षणमा राखेको मान्छेहरू भएकाले मृतको न्यायका लागि सरकार लाग्नेमा आशावादी छन् । ‘पक्की र राम्रो घरमा उनीहरूलाई राख्न पाएको भए यो क्षति नहुने थियो की ?’, थापाले भने, ‘१३ जेष्ठमा हाम्रो भाडाको अवधि पनि सकिदैँछ । भाडावालाले यहाँ बाट हट्न भनेका छन् । जग्गा भए घर बनाउने सहयोगी दाता पनि छन् । तर जग्गा दिन कोही तयार छैन ।’ थापा जीवनभरि आफूजस्तै मानिसको सेवामा बिताउन चाहेको बताउँछन्।
टिपरको त्रासमा छन् शंखरापुरबासी
फागुन ५ गतेमा शंखरापुर नगरपालिका प्रमुखलाई यहाँका स्थानीयहरूले आफ्नो नगर भित्रका सडकमा सयौँ टिपर, ट्रक तथा ट्याक्टरहरूले निर्माण सामाग्रीहरूको ढुवानी गर्दा दुर्घटनाको जोखिमसँगै असुरक्षा भएको भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
त्यसको तीन हप्ता नपुग्दै टिपरकै कारण तीन जनाको मृत्यु भएको छ। शंखरापुरमा छिमेकी मेलम्ची नगरपालिकाको इन्द्रवती नदी तथा आसपासका क्षेत्रमा उत्खनन् एवं संकलन भएका निर्माण सामाग्रीको ओसारपसार गर्न शंखरापुरको सडक प्रयोग गर्छन् ।
स्थानीय प्रकाश ढकाल टिपर व्यवसायी र चालकको लापरबाहीलाई नगरपालिका, ट्राफिक प्रहरीले साथ दिँदा अनाथ बालबालिकाको मध्य रातमा ज्यान गएको आरोप लगाउँछन्। ‘ बेलामा पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफूले पाएको अधिकार प्रयोग नगरी सुतेर बस्ने नगरपालिका यो घटनामा बढी जिम्मेवार छ,' ढकालले भने, ‘यो दुर्घटना नभएर ट्राफिक प्रहरी र नगरपालिकाको मिलिमतोमा भएको हत्या हो । नगरपालिकाको नेतृत्वको गैरजिम्मेवार शैलीलाई मौन रुपमा साथ दिने यहाँका क्रियाशील दलहरू पनि जिम्मेवार छन्।’
स्थानीय तहलाई यस्ता अवैध उत्खनन् तथा ओसार पसार नियन्त्रण गरी आफ्नो क्षेत्रभित्रको भौतिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पूर्ण अधिकार दिएको छ। नेपाल सरकारबाट जारी भएको ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ले नगर प्रहरीको परिचालन गरी निर्माण सामाग्रीको उत्खनन् तथा ओसार पसारलाई व्यवस्थित गराउन सक्ने अधिकार पनि स्थानीय तहलाई दिएको छ।
शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितले सडक सुरक्षाका लागि आफूले ट्राफिक प्रहरी, टिपर व्यवसायीहरू र चालकसंग छलफल गरिरहेको बताए। ‘ निमार्णका सामाग्री ढुंगा, गिट्टी, बालुवा बोक्न दिनौँ भन्न पनि मिल्दैन सुरक्षित ढंगले अघि बढ्ने हो,' नापितले भने, ‘सडकलाई सुरक्षित बनाउन हामी सबै लाग्नु पर्छ। हामीले सडक नियम नमान्नेलाई कारबाही पनि गर्न भनेका छौँ।’
उनले छिमेकी नगरपालिकालाई समेत सवारी साधनको क्षमता भन्दा बढी सामाग्री आएमा आफूहरू कारबाही गर्ने भनेर पत्र समेत पठाएको बताए । नियमित रुपमा ट्राफिक प्रहरीको सहकार्यमा सचेतना, अनुगमन लगायतको काम समेत भएको उनी बताउँछन् । यद्धपि, रातको समयमा भने सडकमा ट्राफिक प्रहरी कम हुँदा समस्या भएको नापित स्वीकार गर्छन् ।
