सहकारीमा जम्मा भएको ५२ करोड रुपैयाँ बचतमध्ये संचालक समितिका अध्यक्ष राजेश शाक्य एक्लैको परिवारले ४८ करोड रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएको थियो
पोखरा — म्याग्दीको बेनीस्थित कस्तुरी सहकारी संस्थाको एक साताअघि हुने भनिएको साधारण सभा एकाएक रोकिएको छ । उक्त सहकारीमा जम्मा भएको ५२ करोड रुपैयाँ बचतमध्ये संचालक समितिका अध्यक्ष राजेश शाक्य एक्लैको परिवारले ४८ करोड रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएको थियो ।
२०६६ सालमा स्थापित उक्त सहकारीमा त्यसयता शाक्य नै निरन्तर अध्यक्ष छन् । उनकै परिवारले सहकारीमा बचत भएको ५२ मध्ये ४८ करोड रुपैयाँ हिनामिना गरेको तथ्य छानविन समितिको प्रतिवेदनले बाहिर ल्याएको थियो ।
कस्तुरी सहकारीका व्यवस्थापक लोकबहादुर पुन (लोकेश) बेनीकै अर्को कुमारी सहकारीको रकम हिनामिनाको अभियोगमा पुर्पक्षका लागि अदालतको आदेश अनुसार थुनामा छन् । जसकारण गत शुक्रबार तय भएको साधारणसभा हुन नसकेको हो । दुवै सहकारीको व्यवस्थापक रहेका लोकबहादुर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
'सबै कारोबार व्यवस्थापकलाई थाहा छ, लोकेश नै नभएका कारण गत शुक्रबार तय भएको साधारणसभा हुन नसकेको हो,' अध्यक्ष शाक्यले टेलिफोनमा कान्तिपुरसँग भने । शाक्यले आगामी मंगलबारसम्म बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । 'मैले तिर्नपर्ने ४८ करोडमध्ये मैले १० करोड भुक्तानी गरिसकेको छु,' शाक्यले भने, 'भुक्तानी गरिसकेको सबै विवरण बेनी नगरपालिकामा बुझाइसकेको छु ।'
सहकारी बचत रकम अपचलनका विषयमा छानविन गर्न बेनी नगरपालिकाका मेयर सुरत केसीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलले अध्यक्ष शाक्यको परिवारबाटै ४८ करोड रुपैयाँ बराबरको रकम हिनामिना गरेको तथ्य खुलाएको थियो।
