सत्तारूढ कांग्रेसकै भ्रातृ संगठनले गर्‍यो त्रिविमा तोडफोड

नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद नेतृत्वको समूहले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ

फाल्गुन २४, २०८१

सुदीप कैनी

The fraternal organization of the ruling Congress vandalized the university

काठमाडौँ — सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेको छ । नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत पाँच/सात जनाको समूहले रेक्टर खड्ग केसी र डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्षमा तोडफोड गरेको हो । 

कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज र सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएका छन् । दुवै कार्यकक्ष साउद नेतृत्वको समूहले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । रेक्टर केसी र डिन खनालले भने कसले र किन कार्यकक्ष तोडफोड गर्‍यो भन्नेबारे थाहा नभएको बताए । ‘म कार्यकक्षमा नपुग्दै तोडफोड भइसकेको थियो,’ रेक्टर केसीले भने, ‘घटनाबारे कीर्तिपुर प्रहरी वृत्तलाई जानकारी गराएका छौं । प्रहरीले अनुसन्धान गर्दै होला ।’ 

केन्द्रीय विभागको शुल्क घटाउनुपर्नेलगायतका माग रेक्टरसँग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिमार्फत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए । आन्दोलनको नेतृत्वमा नेविसंघ आबद्ध विद्यार्थी छन् । उनीहरूले ज्ञापनपत्र बुझाएर रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका थिए ।

त्यही समूहले तोडफोड गरेको कर्मचारी र विद्यार्थीको भनाइ छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनसँग भने भौतिकशास्त्रका विद्यार्थीले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा सार्न आग्रह गरिरहेका थिए । ‘स्ववियु निर्वाचनपछि परीक्षा छ । त्यसलाई सार्नुपर्‍यो भनेर विद्यार्थीले माग गरिरहेका थिए । मैले सार्नु हुँदैन भन्दै आएको थिएँ,’ डिन खनालले भने, ‘अरू कुनै विवादित विषय थिएन । तोडफोड गर्नुको कारण त्यही हो वा अरू भन्ने पनि थाहा छैन ।’ 

नेविसंघका विद्यार्थी तोडफोडमा संलग्न भएको भेटिएपछि नेविसंघ त्रिवि इकाइ समितिले विज्ञप्ति निकालेर तोडफोडमा संगठनको आधिकारिक संलग्नता नरहेको जनाएको छ । इकाइ सभापति विष्णु बडैलाले जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा संगठनबाट आधिकारिक निर्णय वा निर्देशन नभएको उल्लेख छ ।

‘कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन । तोडफोड जस्ता असभ्य क्रियाकलाप नेविसंघको आदर्श र आस्थाविपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन । भ्रामक समाचार र निराधार आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully