माओवादीको एक महिने अभियान स्थगित

'संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।'

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

One month campaign of Maoists suspended

काठमाडौँ,बारा — माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।

माओवादीका एक पदाधिकारीका अनुसार संसद्‌को कामकारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको हो ।

'संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखियो । यसको प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो,' ती पदाधिकारीले भने, 'संसद्‌का काम प्रभावकारी बनाउन हाल राजनीतिक अभियान स्थगित गरिएको हो ।'

अभियानका लागि अर्को तालिका बनाइने उनले बताए ।

झापाको कचनकबलदेखि सुरू भएको 'लङमार्च' शनिबार रौतहटमा आएर स्थगित भएको नेकपा माओवादीका बारा अध्यक्ष अनिल श्रेष्ठले बताएका छन् । 

शनिबार रौतहटबाट ४ बजे बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम तय गरिएको थियो । सिम्रौनगढ–८ कचोर्वामा सहिद लालु यादवको परिवार भेट्दै कोणसभा र स्वर्गीय वामपन्थी पुराना नेता कचोर्वा निवासी हरिहर यादवको कचोर्वास्थित सालिकमा माल्यार्पण गरेर सिम्रौनगढको सहिद परिवार कुन्दन कुशवाहाको घरमा बास बस्ने कार्यक्रम राखिएको थियो ।

केन्द्रमा राजनीतिक उतारचढावको कारणले रौतहटबाट कार्यक्रम स्थगित भएको बाराका लालकिरण चौलागाईंले बताएका छन् । फागुनपछि बारादेखि अभियानलाई फेरि निरन्तरता दिने सम्भावना रहेको उनले बताए ।

पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्मको जागरण अभियान तय रहेकोमा कोशी प्रदेश र मधेशको ८ जिल्लामध्ये ६ जिल्ला पुगेर अभियान स्थगित भएको हो । मधेश प्रदेशको बारा र पर्सामा क्रमशः फागुन २४ र २५ र २६ गतेका लागि कार्यक्रम तय गरिएको थियो । 

कान्तिपुर

Link copied successfully