एमाले मोरङको १० औं अधिवेशन: संस्थापनइतर समूहको प्यानल नै विजयी

उपाध्यक्षमा सागर थापा र सचिवमा सोमराज थापाको जित

फाल्गुन २४, २०८१

पर्वत पोर्तेल

10th session of UML Morang: The panel of the establishment and other groups is the winner

विराटनगर — एमाले मोरङको दसौं अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार पराजित भएका छन् भने संस्थापनइतर समूहको प्यानल नै विजयी भएको छ । शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार अजम्बर राईले ४ सय ४६ मत पाएर अध्यक्षमा जित हासिल गरे । उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत ल्याए ।

जिल्ला अधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व विनोद ढकालले गरेका थिए । उनी पक्षका सागर थापा ४ सय २२ मत ल्याई उपाध्यक्षमा विजयी भए । थापाका प्रतिस्पर्धी संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत पाइन् ।

सचिवमा विजयी भएका सोमराज थापाले ४ सय ६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३ सय ६८ मत पाए । उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० र उषा झाले ४ सय १८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३ सय ११ र शिल्पा कार्कीले ४ सय ५ मत पाए । अधिवेशनमा कुल ८ सय ८८ मत खसेको थियो । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मोरङ–सुनसरी दौडाहाले मोरङको अधिवेशनलाई असर पारेको चर्चा एमाले वृत्तमा सुरु भएको छ । गत माघमा भण्डारीले राजनीतिमा पुनरागमनको संकेत गर्दै अध्यक्ष ओलीसँग असन्तुष्ट नयाँ–पुराना एमाले कार्यकर्तासँग भेटघाट गरेकी थिइन् । यस क्रममा उनले ढकाललाई पनि भेटेकी थिइन् ।

ढकाल भने यो चुनाव पार्टीभित्रको नियमित आन्तरिक प्रतिस्पर्धा मात्रै भएको र यसलाई हार–जितको विषय बनाउन नहुने बताउँछन् । ‘यहाँ न विद्यादेवी भण्डारीलाई जोड्न मिल्छ, न केपी शर्मा ओलीलाई नै । यो नितान्त जिल्लाका स्थानीय कार्यकर्ताको निर्णय हो,’ उनले भने । उनले मोरङमा एमालेलाई एकताबद्ध बनाएर अघि लैजाने प्रतिबद्धतासमेत जनाए ।

ढकाल विगतमा अध्यक्ष ओलीका विश्वासपात्र मानिन्थे । पूर्वमा माधवकुमार नेपालको प्रभाव रहँदा उनी ओली पक्षका थिए । उनै ढकाल अहिले ओली समूहसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । यो विभाजनको सुरुवात २०८० असोजको प्रदेश अधिवेशनबाट भएको थियो । त्यतिबेला ढकालले प्रदेश अध्यक्षमा दाबी गरेका थिए । तर, ओली समूहका नेताहरू गुरु बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्कीलगायतले ढकाललाई पन्छाएर घनश्याम खतिवडालाई अघि सारे । खतिवडा नेपाल समूहका हर्ताकर्ता मानिन्थे । 

२०७४ मा शेरधन राई मुख्यमन्त्री बनेपछि एकै समूहमा भए पनि ढकालको राई र कार्कीसँगको सम्बन्ध बिग्रिएको थियो । यसैकारण नेताहरूले नेपालनिकट रहेका खतिवडालाई समर्थन गरे, जसलाई ओलीले पनि अनुमोदन गरे । ओलीले नै हात झिकेपछि अन्ततः प्रदेश अधिवेशनमा ढकाल पराजित भए र त्यहीबेलादेखि ढकाल ओली समूहसँग एक्लै भिड्दै आएका छन् । ‘ओलीसँगको त्यो ‘इगो’ मोरङको जिल्ला अधिवेशनमा प्रतिबिम्बित भएको हो’, एमालेका एक जिल्ला नेताले भने । 

ढकाल आफूलाई ओली समूहकै सदस्य भएको दाबी गर्दै आएका छन् । तर, उनी पछिल्लो समय भने पूर्वराष्ट्रपति भण्डारीनिकट छन् । गत माघको दोस्रो साता भ्रमणमा आएकी उनले अधिकांश समय मोरङ र सुनसरीका पुराना एमाले कार्यकर्ता र एमालेसँग असन्तुष्टहरूसँग बिताएकी थिइन् । त्यही मेसोमा उनले ढकालसँग विशेष भेट गरेकी थिइन् । ओलीले प्रदेश र जिल्ला दुवै तहमा ‘ग्रिन सिग्नल’ नदिइरहेका बेला भण्डारीसँगको उनको त्यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

एमालेका एक केन्द्रीय सदस्यले एमाले मोरङको अधिवेशनले पार्टीभित्रको आन्तरिक गुटबन्दी र शक्ति संघर्षलाई प्रस्ट्याएको बताए । ‘एक समय ओलीप्रति बफादार मानिएका ढकाललाई संस्थापन पक्षसँग प्रतिस्पर्धामा उत्रिन कसले बाध्य बनायो ?,’ ती केन्द्रीय नेताले भने, ‘अध्यक्षलाई गुमराहमा राखेर पार्टीभित्र मनपरी गर्ने प्रवृत्तिविरुद्धको जनमत हो मोरङको परिणाम ।’

अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा बादलले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न आह्वान गरेका थिए । तर, मोरङमा ओलीको निर्देशन कार्यान्वयन हुन सकेन । जसले पार्टीभित्रको गुटबन्दी सतहमै देखिएको छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully