संघीयताको विकल्प छैन : पूर्वअर्थमन्त्री पुन

फाल्गुन २३, २०८१

काशीराम डाँगी

There is no alternative to federalism: former finance minister again

काठमाडौँ — माओवादीका उपमहासचिव वर्षमान पुनले संघीयताको विकल्प नभएको बताएका छन् । उनले हालको संघीयता भित्रबाटै विकास र समृद्धि ल्याउन सकिने बताए ।

शुक्रबार रोल्पाको लिवाङमा रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको विकासमा संघीयताले टेवा पुर्‍याउने तर्क गरे । 'हालको तीन तहको संघीयताबाट मुलुकको समृद्धि र विकास संभव छ । त्यसैले संघीयतालाई मलजल गरेरै अघि बढ्नु राजनीतिक दलको मुख्य काम हो,' उनले भने ।

संघीयताले समान विकासको अवधारणा ल्याएको र आन्दोलनको उद्देश्य पनि समानुपातिक विकासको मोडेल भएको उनको तर्क छ । पूर्वअर्थमन्त्री समेत रहेका पुनले स्थानीय, प्रदेश र संघ बीचमा समन्वय र सहकार्य गरेर मात्रै सही संघीयताको अर्थ रहने बताए । 'यतिबेला कतिपय अवस्थामा संघीयताको विरोध भएको पाइएको छ । तर समान विकास र आपसी सम्बन्ध र समावेशीकरणका लागि संघीयता जरुरी छ,' उनले भने । 

अहिले अफ्ट्यारो परिस्थिति रहेकाले संघीयता नै खराब हो कि जस्तो लाग्नु स्वाभाविक भएको उनको तर्क छ । अप्ठ्यारो चिर्न कानुन संशोधन गरेर अघि बढ्न सकिने उनको सुझाव छ । छिमेकी मुलुक भारतमा पनि सुरुमा संघीयता कार्यान्वयन गर्दा यस्तै अप्ठ्यारो आएको र पछि सहज भएको उनको भनाइ छ ।

एक वर्षभित्र निर्माण भएको नगरको नयाँ भवनको उद्घाटन कार्यक्रममा पुनसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं सांसद जोखबहादुर महरा, लुम्बिनीकै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद दीपेन्द्रकुमार पुन लगायतले मन्तव्य राखेका थिए ।

नगरको नयाँ भवन निर्माण टक्सार/जलजला /छायांश्वरी जेबीले १३ करोड ४५ लाख ७० हजार ६ सय ४८ रुपैयाँमा सम्पन्न गरेको हो । उक्त कम्पनीलाई भवन निर्माणसम्पन्न गर्न यही फागुन २८ गतेसम्मको म्याद दिइएको थियो । 

स्थानीय तहको निर्वाचनको पहिलो अवधिका जनप्रतिनिधिको सक्रियतामा करिब ८ रोपनी क्षेत्रफलको जग्गा खरिद गर्न १ करोड १७ लाख रकम खर्चिएको थियो । नगरले यसअघि सबै १० वटा वडामा वडा कार्यालय निर्माण गरिसकेको छ ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully