मुलुकमा प्रतिक्रियावादी शक्ति हाबी भइरहेको छ : अध्यक्ष दाहाल 

फाल्गुन २३, २०८१

ओमप्रकाश ठाकुर

Reactionary forces are gaining ground in the country: President Dahal

सर्लाही — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा प्रतिक्रियावादी शक्तिहरु हाबी भइरहेको बताएका छन् ।माओवादीको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानका क्रममा हुलाकी सडक हुँदै सर्लाही सदरमुकाम मलंगवा आइपुगेका दाहालले कभर्ड हलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिक्रियावादी शक्ति सलबलाइरहेको बताएका हुन् ।

उनले प्रतिक्रियावादी शक्ति हजारौं सहिदले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व प्रणाली उल्ट्याउने दुस्साहस गरिरहेको बताए । 

प्रतिक्रियावादी शक्तिलाई चुनौती दिन माओवादीले यो अभियान सुरु गरेको उनको भनाइ छ । ‘हजारौं सहिदले रगत बगाएर ल्याएको गणतन्त्र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली नै उल्ट्याउने दुस्साहस गर्दैछन्,’ उनले भने, ‘त्यसका विरुद्घमा जनशक्ति निर्माण गर्ने र जरुरी परे सडकमा गएर उनीहरुलाई चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरेका हौं ।’  

जागरण अभियानको क्रममा सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र त्यसअनुसार विकास निर्माणका काम अघि बढाउने उनले जानकारी दिए । पूर्वप्रधानमन्त्री दाहालले सर्लाही खण्डमा पर्ने हुलाकी सडक गुणस्तरहीन रहेको भन्दै निर्माण भएको एक वर्ष भित्रमा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था देखिएको बताए । 

माओवादीको जनसभामा जसपा नेपालका पूर्वसांसद प्रमोद साह माओवादी प्रवेश गरेका छन् । उनलाई माओवादी अध्यक्ष दाहालले माला लगाएर स्वागत गरेका थिए ।

ओमप्रकाश

Link copied successfully