[टिप्पणी] मधेशमा दाहाल : घरघरमा पस्दै छन् कि मनमनमा बस्दै छन् ?

०८४ को निर्वाचनअघि माओवादी सत्तामुखी बन्छ कि बन्दैन ? प्रमुख प्रतिपक्षमै रहेर जनताको आवाज बोलिरहन सक्छ कि सक्दैन ?

फाल्गुन २३, २०८१

गंगा बीसी

[Comment] Dahal in Madhesh: Are you entering the house or living in the heart?

काठमाडौँ — बिहानै मधेशका बस्तीमा नेता-कार्यकर्ताबाट घेरिएर हिँड्नु, स्थानीयसँग चिया पिउँदै गफ गर्नु, गुनासा-आक्रोश सुन्नु, दिउँसो सामूहिक खाना खानु, सभा गर्नु अनि बेलुका स्थानीयको घरमा बास बस्नु ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हिजोआजको दिनचर्या यही हो ।

माओवादीले फागुन १२ देखि झापाबाट सुरु गरेको ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’को नेतृत्व गर्दै यतिबेला सर्लाही पुगेका दाहाल प्रायः स्थानीय पहिरनमै देखिन्छन् ।

नेपाल–भारत सीमा नजिक पूर्वपश्चिम हुलाकी राजमार्गकेन्द्रित यो ‘लङमार्च’मा कोही पनि नेता होटलमा नबस्ने नियम बनाएकाले दाहाल स्थानीय समर्थक र शुभेच्छुकको घरमा बस्दै आएका छन् । जनतासँग जोडिने मूल उद्देश्यसहित स्थानीयको घरमा बास बस्ने, त्यहीँ खाने र उनीहरुको मनोविज्ञान बुझ्ने, पढ्ने उद्देश्य माओवादीले राखेको छ ।

यात्रा क्रममा अध्यक्ष दाहालले स्थानीयबाट ज्ञापनपत्र संकलन गर्दै हिँडेका छन् । आगामी निर्वाचनपछि माओवादीको नेतृत्वमा सरकार बने ती पूरा गर्ने, त्यसअघि सरकारमा नगए पनि माग लिएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई खबरदारी गर्ने दाहालको प्रतिबद्धता छ ।[Comment] Dahal in Madhesh: Are you entering the house or living in the heart?

अन्य प्रदेशभन्दा तुलनात्मक रुपमा तराई मधेशमा माओवादीको जनाधार कमजोर छ । कञ्चनपुरसम्म १ हजार ८ सय किलोमिटरभन्दा लामो ‘लङमार्च’का क्रममा दाहालले चैत १२ सम्म (करिब एक महिना) समथर भूमिमा बिताउनेछन् ।

कांग्रेस-एमाले गठबन्धन बनेपछि सत्ताबाट बहिर्गमन भएका दाहाल आगामी दिनमा कसैसँग गठबन्धन नगर्ने भन्दै लङमार्चमा निस्किएका हुन् । यस क्रममा उनले स्थानीयसँग अन्तरक्रिया, खानपान मात्र गरेका छैनन्, स्थानीय गीतसंगीतमा नाचगान समेत गरेका छन् । [Comment] Dahal in Madhesh: Are you entering the house or living in the heart?

दाहालले लङमार्च सुरु गरेपछि राजनीतिक वृत्तमा एउटा प्रश्न उठेको छ- के जनताको घरघरमा बास बस्दैमा मनमा बस्न सम्भव छ ?  

यसको जवाफ खोज्नुभन्दा पहिले माओवादीले २०५२ मा सुरु गरेको सशस्त्र संघर्षअघि पुग्नुपर्ने हुन्छ । 

२०४८ मा संयुक्त जनमोर्चा नेपालको नामबाट निर्वाचनमा भाग लिएको उसले संसद्‌मा ८ सिट जितेर तेस्रो दल भएको थियो । त्यतिबेला संसद्‌लाई सशस्त्र संघर्षका लागि उपयोगको नीति लिएको उसले आफ्नो प्रभाव रहेको क्षेत्रमा यस्तै जागरण अभियान गरेको थियो । रुकुम, रोल्पा, सल्यान, जाजरकोट, प्युठानलगायत जिल्लामा सांस्कृतिक कार्यक्रमसहित सशस्त्र युद्धको औचित्यबारे गीत, संगीत, नृत्य, नाटक देखाउँदै अभियान चलाएको थियो । त्यो अभियान माओवादीका लागि आधार तयार पार्न प्रभावकारी भएको थियो । 

‘जनताको घरमा बस्ने,  कुरा सुन्ने, युद्धका लागि जनतालाई मानसिक रुपमा तयार पार्ने, राज्यबाट दमन भए प्रतिरोधी दस्ता तयार गर्ने’ रणनीतिसहित माओवादीले जागरण अभियान चलाएको थियो । सँगसँगै उसले भौतिक रुपमा ‘जनसेवा’ अभियान चलाएको थियो । बाटाघाटा निर्माण, सरसफाइ अभियान, स्थानीयको कृषिको कामलाई सघाउनु, क्रान्तिको सपना देखाउनु त्यो अभियानको मुख्य उद्देश्य हुन्थ्यो ।

माओवादीले सशस्त्र संघर्ष सुरु गरेपछि अभियान चलाएका जिल्ला आधार इलाकामा परिणत भएका थिए । यसपटक माओवादीले तराई मधेश जागरण अभियानका केही विशेषतालाई दोहोर्‍याएको छ । [Comment] Dahal in Madhesh: Are you entering the house or living in the heart?

माओवादीले कोर मधेशमा जागरण अभियान चलाएर मधेशी समुदायका पीरमर्का, चाहना र मागलाई नजिकबाट छाम्न चाहेको अध्यक्ष दाहालले बताउँदै आएका छन् । पटकपटक सरकारमा गए पनि पछिल्लो आफ्नो नेतृत्वको सरकार मुख्य गरी सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायलाई जोड दिएकै कारण सरकारबाट निकालिएको भाष्य स्थापित गर्न खोजेको छ । कमजोर हुँदै आएको आफ्नो संगठनलाई २०८४ को निर्वाचनमा सके बढाउनु, सम्भव नभए जोगाउने मुख्य उद्देश्य राखेको देखिन्छ । तर माओवादीका लागि अभियानका क्रममा जसरी जनजनका घरघरमा बास बस्दै आएको त्यसरी मनमनमा पस्न सहज भने छैन ।

तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले २०६८ भदौमा प्रधानमन्त्री भएका बेला हरेक महिना स्थानीयको घरमा बास बस्ने तालिका बनाएका थिए । त्यसबेला उनी जुम्ला, काठमाडौं, बर्दिया, गोरखा लगायतका जिल्लामा स्थानीयका घरमा बास बस्न जान्थे । त्यही घरमा पाकेको खाना खाएर अन्तर्क्रिया गर्थे । जनतासँग सम्बन्ध विस्तार गर्न उनले त्यो अभियान सुरु गरेका थिए । 

माओवादी छाडेर नयाँ पार्टी गठन गरेपछि पनि उनले २०७५ माघ–फागुनमा चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद’ यात्रा गरेका थिए । त्यसबेला पनि उनी स्थानीयको घरमा बास बसेका थिए । तर जुन अपेक्षाका साथ उनले त्यो यात्रा गरेका थिए, तर उनको पक्षमा जनसमर्थन देखिएन । गएको आम निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्ने निष्कर्ष निकाल्दै उनले माओवादीसँग गठबन्धन गरे । पार्टी एकताका साथ गठबन्धन गरेका दाहाल र भट्टराईबीच निर्वाचन परिणाम आइसकेपछि दूरी झन् बढेको छ । हाल यी दुई नेताबीच यति चिसो सम्बन्ध छ कि बोलचाल बन्द छ ।

यसअघि एमालेले २०८० मंसिरदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा सुरु गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीयका ज्ञापनपत्र बुझेका थिए । ती ज्ञापनपत्र संश्लेषण गरी तत्कालीन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाललाई बुझाइएको थियो । तर ओलीले सरकारको नेतृत्व गरे पनि स्थानीयको सेवा, सुविधा, व्यवसाय, योजनालाई तीव्र गति दिने माग पूरा भएका छैनन् । राजनीतिक यात्रा गरेकै बलमा दलप्रति अभूतपूर्व समर्थन भइसक्यो । आफू सरकारमा गएपछि यात्राका क्रममा आएका माग पूरा गर्ने प्रतिबद्धता अधुरा रहेका पुष्टि भइसकेको छ ।

बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा राजनीतिक अभियान चलाउनु सुन्दर पक्ष हो । माओवादीले पछिल्लो समय हुलाकी राजमार्ग र त्यसपछि मध्यपहाडी लोकमार्गमा राजनीतिक लङ मार्च चलाउन खोज्नुका पछाडि अब ऊसँग विद्रोहको धङधङी पनि बाँकी छैन भन्ने स्पष्ट भएको छ । तर माओवादीले जसरी राजनीतिक यात्राका क्रममा तराई मधेशमा ठूलो नैतिक समर्थन मिलेको तर्क गरेको छ ।

[Comment] Dahal in Madhesh: Are you entering the house or living in the heart?

‘तराई मधेश जागरण अभियान हेर्दा सामान्य भए पनि हामीलाई ठूलो समर्थन मिलेको छ । यसले हामीलाई उत्साह थपेको छ,’माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो सामान्य राजनीतिक अभियान नभई जनतासँग जोडिने प्रत्यक्ष जोडिने माध्यम भएको छ ।’

अभियान क्रममा माओवादीले दर्जनौं गम्भीर प्रश्नको सामना गर्नुपरेको छ । २०६५ पछि बनेका १४ सरकारमध्ये ११ सरकारमा सरकारमा सहभागी भएको माओवादीले ‘सर्वहारा वर्ग’का लागि किन काम गर्न सकेन ? माओवादीको कार्यशैली किन नवधनाढ्य जस्तो भयो ? सत्ताका लागि सधैं मरिहत्ते किन ? यी प्रश्नको जवाफ दिँदै माओवादीलै हैरानी भोग्दै आएको छ । 

विगतमा ‘आफ्नो वर्गतिर फर्कन नसक्नु, सरकारमा जानु प्राथमिकतामा राख्नु, कार्यशैली महँगो र भड्किलो हुनु’ कमजोरी रहेको बताउँदै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता गरेको छ । तर स्थानीयले सहजै पत्याइहाल्ने अवस्थाचाहिँ छैन । २०८४ को आम निर्वाचनअघि माओवादी सत्तामुखी हुन्छ कि हुँदैन ? प्रमुख प्रतिपक्षमा रहेर जनताको पक्षमा बोलिरहन सक्छ कि सक्दैन ? भन्ने यक्ष प्रश्न छ । यी प्रश्नको उत्तर व्यवहारमै बसेर दिन सक्यो भने मात्र माओवादी जनजनको मनमा बस्न सम्भव हुनेछ ।

गंगा

Link copied successfully