काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुर्ख्यौली घरमा पुगेका छन् । 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान'का क्रममा महोत्तरी पुगेका दाहाल बिहीबार एकडारा गाउँपालिका-२ स्थित बालेनको घर पुगेका हुन् ।
बिहीबार बालेनको पुर्ख्यौली घरमा दाहालसहितको टोलीलाई स्वागत कार्यक्रम राखिएको थियो । 'पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ,' दाहालको सचिवालयले भनेको छ ।
मेयर शाहको पुर्ख्यौली घर अहिले गाउँपालिकाले प्रयोग गरिरहेको छ । दाहालले स्वागत कार्यक्रममा आफ्नो भनाइ राख्दै सबै मिलेर देश बनाउने सन्देश दिएका छन् । उनले भने, 'सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं ।'
