लोकतन्त्रको नाममा लुटतन्त्र भयो : अध्यक्ष साह 

फाल्गुन २२, २०८१

लक्ष्मी साह

Robbery happened in the name of democracy: President Shah

बारा — आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठूला र सत्ताधारी दलहरुले लोकतन्त्रलाई लुटतन्त्र बनाएको आरोप लगाएका छन् । बाराको बारागढी गाउँपालिकाको पिपरा बजारमा बिहीबार आयोजित पार्टीको प्रथम गाउँपालिका भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । 

लोकतन्त्रको नाममा जनता ठग्ने मन्त्र बनाउने गरेको, भ्रष्टाचार गर्ने गरेको, जनतामाथि ऋण बोकाउने र राज्यको ढुकुटी खाली गराउने प्रवृत्ति मौलाएको उनको आरोप छ । देशलाई यसबाट जोगाउन जनता सडकमा उर्लिनुको विकल्प नरहेको उनको भनाइ छ । ‘दलाल र विचौलियाको आडमा लोकतन्त्र होइन, ठूला र सत्ताधारी दलतन्त्र चलेकोले देश आर्थिक दलदलमा फस्दै गइरहेको छ,’ उनले भने, ‘लोकतन्त्रको नाममा नेताहरुले राज्यको ढुकुटी सिध्याएर नेपालीमाथि ऋणको भार बोकाएको र विभिन्न भ्रष्टाचारका काण्डले मुलुक धरासायी बन्दै गएको छ ।’

सरकारमा भएका दलहरुले मिलेरै भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै उनले भने, ‘सरकारले ठूला भ्रष्टाचार काण्डको फाईल पल्टाउन चाहेको छैन् ।’ संघीय सांसद साहले वर्तमान सरकार पूर्णरुपमा असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरे । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री आफैं असफल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरे । 

‘प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ,’ उनले भने, ‘देशको नेतृत्वकर्ता नै असफल भएपछि देश कसरी उभो लाग्छ ?’ उनले भने, ‘कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री आफैं फेल हुनुभयो, उहाँको क्याबिनेटमा आधाभन्दा बढी मन्त्रीहरु नै कार्यसम्पादन मूल्यांकनमा असफल भए । असफल कसरी सुशासन र विकास दिन्छ त ?’ 

सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत सेवासुविधा नदिएको उनले आरोप लगाए । ‘सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन नैतिकताले निजी क्षेत्रसँग कर लिन मिल्छ ?’ उनले प्रश्न गरे ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully