पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौती - लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's challenge to former king Shah - if you think you are popular, contest the election

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । महोत्तरीमा बिहीबार भएको कार्यक्रममा उनले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न पूर्वराजा शाहलाई चुनौती दिएका हुन् ।

उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको उल्लेख गर्दै कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गरे । ‘नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र कताबाट उदिनेर, कहाँबाट उदिनेर ल्याउने हो ? ल्याएर कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे । अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनुभयो ? कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,' उनले भने, 'पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस् ।' 

छायाँ अघि सारेर नभइ आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न उनको चुनौती छ । 'तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि ! आउनुस् चुनाव लड्नुस्, पार्टी खोलनुस्, खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला-निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्‍यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने,' उनले थपे, 'अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोही, कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन । नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन् ।' 

उनले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै आफू मधेसविरोधी नभएकोसमेत बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully