'हाम्रा छिमेकीहरूलाई धन्यवाद दिउँ न, हाम्रा आवश्यकता परिपूर्ति गरिदिएकामा भारतलाई धन्यवाद दिउँ । उहाँहरूलाई चाहिँदा चाहिँदै पनि ४५० मेगावाट किन्न दिनुभयो । तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ'
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुनै भूमिका र योगदान नरहेको बताएका छन् । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जाने बताउँदै त्यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
प्रतिनिधिसभाको बैठकमा घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन भएका प्रयासबारे सांसदले उठाएका प्रश्नको बिहीबार जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा लोडसेडिङ अन्त्यदेखि विद्युत् बेच्नेसम्मका कार्यमा घिसिङको नभइ भारतको भूमिका रहेको बताए ।
'लोडसेडिङ अन्त्य गरेर नायकको उपाधि दिइराखेका छौं समाजले, तपाईं/हामीले, सबैले । तर त्यै मन्त्रालयमा बसेर काम गर्ने पूर्वमन्त्रीहरूलाई राम्रो ज्ञान छ लोडसेडिङको अन्त्य कसरी भएको थियो भनेर । लोडसेडिङको अन्त्य हुँदै गर्दा हामीहरूले भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेका थियौं । नेपालको आवश्यकता तत्कालीन अवस्थामा ४२५ मेगावाटको थियो,' खड्काले भने, 'अर्कातिर उद्योगधन्दामा लाइन बेलुकाको कम दिएर लोडसेडिङ भयो भन्यौं । बरु हामीले हाम्रा छिमेकीहरूलाई धन्यवाद दिउँ न हाम्रा आवश्यकता परिपूर्ति गरिदिएकामा भारतलाई धन्यवाद दिउँ । उहाँहरूलाई चाहिँदाचाहिँदै पनि ४५० मेगावाट किन्न दिनुभयो । त्यसका लागि म यसै सदनबाट तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ र त्यतिखेर दुईवटा प्रधानमन्त्रीहरू केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्मै निर्णय भएर खरिद गर्ने निर्णय रहेछ ।'
लोडसेडिङ कुलमानले गर्दा अन्त्य नभएको कुरालाई जोड दिँदै खड्काले भने, 'कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेका काममा कन्जुस्याँइ कहाँ गरौं भन्या छ र ? उहाँलाई धन्यवाद दिन सकिन्छ ।' लोडसेडिङ घिसिङले अन्त्य गरेको भन्ने भ्रममा नबस्न खड्काले सांसदहरूलाई आग्रह गरेका थिए ।
बंगलादेशमा विद्युत् निर्यात गर्नमा पनि घिसिङको भूमिका नरहेको खड्काको भनाइ थियो । 'भारत र बंगलादेशमा विद्युत् निर्यातमा उहाँको महत्त्वपूर्ण भूमिका छ त्यसकारण कानुन नमाने पनि हुन्छ भन्ने जुन मान्यता राखिएको छ । त्यसमा पनि उहाँको प्रमुख भूमिका होइन । भारतमा विद्युत् बिक्री गर्नका थुप्रै निर्णय सम्झौता माननीयजीहरूलाई थाहा हुनुपर्छ, छ,' उनले भने, 'स्वर्गीय सुशील कोइरालाका पालामा भएका सम्झौता, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालमा भएका सम्झौता र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको सम्झौताका आधारमा त्यहाँ बिक्री गर्ने बाटो खुलेको हो हामीहरूलाई । राम्रो पक्ष छ यो, गर्व गरौं ।' आयात र निर्यात बराबर बनाएको, निर्यात नै बढी बनाउन सकेको तर त्यसमा घिसिङको भूमिका नरहेको खड्काको भनाइ थियो ।
'बंगलादेश विद्युत् निर्यात गर्दै गर्दा पूर्वप्रधानमन्त्रीज्यूहरूको भूमिका छ । सरकारहरूको भूमिका छ । पूर्वमन्त्रीहरूको भूमिका छ । यसपटक पनि निर्यात गर्ने क्रममा भारत सरकारको निक्कै ठूलो भूमिका रह्यो । किनभने ग्रीड बंगलादेश जानका निमित्त ट्रान्समिसन लाइन भारतको प्रयोग गर्नुपर्थ्यो,' खड्काले भने, 'भारत र बंगलादेशमा भएका राजदूतहरूको भूमिका छ र अहिलेको परराष्ट्रमन्त्री आरजू देउवा राणाको महत्त्वपूर्ण भूमिका छ । सम्झौता पनि गर्यौं बिक्री पनि यसै पटक गर्यौं ४० मेगावाट भए पनि । यो पनि हामी सबैले गर्व गर्दा हुन्छ । यो एकजना एमडीका कारण भएको होइन भन्ने कुरा म निवेदन गर्न चाहन्छु ।'
अझै पनि बंगलादेशको भूमिका छ भन्ने लाग्छ भने कागजात पढ्न सांसदहरूलाई मन्त्री खड्काको सुझाव थियो ।
