कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध बन्नसक्छ : सभापति देउवा

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Nepal can become prosperous only if the Congress is strong: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए । 

सभापति देउवाले भने, ‘नेपाल भूतपूर्व सैनिक संघमा साथीहरूको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ ।'

उनले प्रजातन्त्र स्थापना र पुनः स्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरूले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, 'नेपाली भूपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भए मात्रै नेपाल समृद्ध मुलुक बन्न सक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’

सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुने जिकिर गरे । नेपाली कांग्रेस बलियो पार्टी भए मात्रै नेपाल समृद्ध मुलुक बन्न सक्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully