कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन्: मन्त्री खड्का 

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Kulman didn't know the government, he didn't know it: Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याकंनमा सहभागी नभएका कारण शून्य अंक दिइएको प्रस्ट्याएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए ।

उनले कोही पनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानुनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए । 

उनले भने, ‘यो भदौमा उनले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतीत भइसकेपछि असोजमा उनलाई लिखित रूपमा स्मरण गराइयो । तपाईँले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो । र, एकै चोटि पुसमा ल्याएर उनले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिदिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदि जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? त्यस कारणले कि मलाई भनिदिनुपर्‍यो उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भनेर, अनि संविधानमा पनि लेखिदिनुपर्‍यो । हामीले ल्याएको व्यवस्था त्यस्तो होइन । सबै नागरिकहरू यस संविधानअन्तर्गत रहनेछन् । कानुनको परिपालना गर्ने सबैको दायित्व हो । त्यस कारण उनले शून्य नम्बर पाउनुभएको हो । उहाँले चिन्दै चिन्नुभएन, टेर्दै टेर्नुभएन ।’

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरूलाई नटेर्ने भएको कारण उनलाई पटक-पटक स्पष्टीकरण सोधिएको बताए ।

कान्तिपुर

Link copied successfully