काठमाडौँ — कांग्रेस सासंद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
उनले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम भएको तर्क पनि गरे ।
सासंद खतिवडाले भने, 'एनजीओ र आइएनजीओका नाममा आएका रकम कति छन्, त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले । भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।' उनले अमेरिकाले गैरकानुनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए । उनले अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेर मात्र गैरआवासीय फिर्ता गर्नुपर्ने बताए ।
५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नौ नेपाली बुधबार मात्रै अमेरिकाबाट फर्काइएका थिए । मानव तस्करको फन्दामा परेका उनीहरू १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।
