१ करोडसम्म बुझाएर अमेरिका पुगेका ९ नेपाली एक वर्ष नकट्दै फर्काइए

नेपालबाट भारत, दुबई, अफ्रिका र युरोपका विभिन्न मुलुक हुँदै ब्राजिल पुगेका उनीहरू दक्षिण अमेरिकाका आधा दर्जन मुलुक छिचोलेर मेक्सिको पुगेका थिए, यो रुट पार गर्न उनीहरूलाई ९ महिनासम्म लागेको थियो

फाल्गुन २२, २०८१

सुरज कुँवर, विवेक पोख्रेल

9 Nepalis who came to America after paying up to 1 crore were returned within a year

काठमाडौँ — ५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नौ नेपाली बुधबार स्वदेश फर्काइएका छन् । मानव तस्करको फन्दामा परेका उनीहरू १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।

गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा निष्कासन परेकामध्ये एक महिला र ७ पुरुषलाई अमेरिकी चार्टर्ड विमानबाट बुधबार काठाडौं उतारिएको हो । अर्की एक नेपाली महिला भने कतार एयरवेजको नियमित उडानबाट आइपुगेको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अमेरिकाको न्यु ह्याम्पसरस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ग्रिफोन एयरको गल्फस्ट्रिम चार्टर्ड जहाज बुधबार बिहान ९ः५३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । ९ जनालाई नै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ र परामर्शपछि आफन्तको जिम्मा लगाएको छ । सोधपुछका क्रममा उनीहरूले आफूखुसी गएकाले उजुरी गर्नुपर्ने कारण नभएको बताएका थिए । 

‘उनीहरू तस्करी वा ठगीमा परे कि भनेर सोधपुछ गरेका हौं । तर उनीहरूले आफूखुसी गएको भन्दै कसैविरुद्ध जाहेरी दिएनन्,’ ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएका कारण आफूहरू फर्कनुपरेको उनीहरूको भनाइ छ ।’ 

अमेरिकाबाट फर्काइएकामध्ये दाङका ३, रुकुमपूर्वका र पश्चिमका २–२ तथा डोटी र रोल्पाका १–१ जना छन् । कुँवरका अनुसार उनीहरूले अमेरिका पुग्न १४ वटासम्म मुलुकको यात्रा गरेका थिए । एक जना नेपालबाट सिधै र अरू भारत हुँदै दुबई पुगेका थिए । त्यसपछि अफ्रिका वा युरोपका विभिन्न मुलुक हुँदै उनीहरू ब्राजिल उत्रिएका थिए । त्यहाँबाट आधा दर्जन मुलुक पार गरेर मेक्सिको पुगेपछि अमेरिका छिरेका थिए । यस क्रममा उनीहरूले हवाई र स्थलमार्ग प्रयोग गरेका थिए ।

उनीहरू ५ देखि ९ महिनाअघि अमेरिका पुगेका थिए । यस टोलीमा २१ डिसेम्बर २०२३ मा नेपालबाट हिँडेकासम्म छन् । अमेरिका पठाउने एजेन्टले उनीहरूलाई फर्किनुपरे पनि अरू कुनै देश पठाइदिने वा अरू केही आश्वासन दिएको शंका प्रहरीले गरेको छ । ‘त्यही कारण उनीहरूले कसैलाई दोष नलगाएको हुनुपर्छ,’ ब्युरोका एक अधिकारीले भने, ‘उनीहरूसँग निरन्तर सम्पर्कमा रहन्छौं ।’ 

विमानस्थल अध्यागमन प्रमुख भट्टराईका अनुसार ७ माघयता अमेरिकाले ३६ जना फर्काएर नेपाललाई बुझाइसकेको छ । ‘बुधबार राति पनि भारत हुँदै अर्का एक नेपाली दिल्ली हुँदै आउने सूचना छ,’ भट्टराईले भने । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ का अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजाने, शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाईफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेश लैजाने वा अरू कसैलाई दिने गरे मानव बेचबिखन र ओसारपसार गरेको मानिन्छ । 

विमानस्थल अध्यागमनका अनुसार भिसालगायतका आधिकारिक कागजात नमिलेकै कारण विभिन्न मुलुकबाट निष्कासन परेकाहरू दिनहुँजसो आइरहेका हुन्छन् । निष्कासनमा परेकाहरूलाई सम्बन्धित मुलुकबाट नेपाली दूतावासले ‘ट्राभल डकुमेन्ट’ बनाइदिएको हुन्छ । त्यसैका आधारमा विमानस्थलमा रहेको अध्यागमनले अतिरिक्त फारम विवरण भराएर, पारिवारिक विवरण तथा औंठा छाप लिई अतिरिक्त अनुसन्धानका लागि बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाउँछ । बुधबार पनि यही विधिमार्फत अध्यागमन कार्यालयले अमेरिकाबाट फर्काइएका नौ जनालाई प्रहरीको जिम्मा लगाएको थियो । 

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully