यसरी हुँदैछ बुटवल-नारायणगढ सडकखण्ड विस्तारको काम

फाल्गुन २१, २०८१

नवीन पौडेल

This is how the Butwal-Narayangadh road section expansion work is going on

परासी — नारायणगढ-बुटवल सडक विस्तार सुरु भएको ६ वर्ष पूरा हुन लाग्यो । ४० महिनामा सम्पन्न हुनुपर्ने सडक विस्तारको काम निर्धारित समयमा पूरा हुन सकेन । जसको कारण यो सडक भएर यात्रा गर्न असहज छ ।

खाल्टाखुल्टी, धुलो, हिलो र लामो समय सवारी जाम हुने समस्याले गर्दा यात्रुसँगै स्थानीय बासिन्दाले समेत सास्ती भोगिरहेका छन् । कोरोना कहर र निर्माण सामग्रीको अभाव देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको छ । रूख कटान आदेश, बिजुलीको पोल सार्ने र खानेपानीको पाइप सार्ने काममा पनि ढिलाइ भएको भयो ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

जनस्तरबाट सडक निर्माणको काम छिटो गर्न राजमार्ग बन्ददेखि प्रधानमन्त्री र सरोकारवाला निकायलाई हारगुहार पनि गरे । तर, निर्माण कम्पनीले रकम अभाव तथा विभिन्न कारण देखाउँदै काम ढिलो गर्‍यो । सरकारले ठेक्का नै खारेज गर्ने र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सम्मको चेतावनी दिनुपर्‍यो । 

This is how the Butwal-Narayangadh road section expansion work is going on

अहिले भने सडक विस्तारको काम तीव्र रूपमा भइरहेको छ । तेस्रो पटक थप भएको म्याद सकिन ५ महिना मात्र बाँकी रहँदा आयोजनाको कामलाई ठेकेदार कम्पनीले तीव्रता दिएको छ । म्याद थप भएको ४ महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनीले अहिले भने पूर्वी र पश्चिम खण्ड दुवैतर्फ कामलाई तीव्रता दिएको हो ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम अहिले धमाधम भइरहेको छ । अहिले पूर्वी खण्डको गैँडाकोट, देव चुली, कावासोतीको लोकाहा, चोरमारा, अरुण खोला खण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।

सडक निर्माण सुरु भएको ६ वर्ष यताकै अहिले सबैभन्दा रफ्तारमा काम भइरहेको नारायणगढ बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘ अहिले काम तीव्र रूपमा भइरहेको छ ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

फेब्रुअरीमा दिएको करिब तीन प्रतिशतको लक्ष्य पनि पूरा भएको छ,’ खनालले भने, ‘वर्षा अगाडि दाउन्नेबाहेक सबैतर्फ एकतर्फी कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।’ ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगर्दा बुटवल-नारायणगढ सडक विस्तारको कामले गति लिन सकेको छैन । 

एक सय १४ किलोमिटर लामो यो सडकको खण्ड अहिलेसम्म करिब ५८ प्रतिशत काम भएको छ । स्थानीय र सरोकारवालाले भने म्याद थपको लागि अन्तिम समयमा काम छिटो भएको र म्याद थप भएपछि फेरी पहिलाको जस्तै ढिला सुस्ती हुने हो कि भन्ने पिरलोमा छन् ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

‘अहिले पहिलाको भन्दा सडकमा कामदार पनि बढी छन् । काम पनि धमाधम भइरहेको छ,’ पश्चिम नवलपरासीको सुनवलका राजेन्द्र कँडेलले भने,‘ अब यही रफ्तार नरोकिने गरेर काम गर्नुपर्दछ । ’

This is how the Butwal-Narayangadh road section expansion work is going on

सडक निर्माणका क्रममा बनेका खाडल नपुर्ने तथा नियमित सडकमा पानी नराख्दा धुलो र खाल्टाखुल्टीमा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् । समस्या समाधानको लागि पूर्वी र पश्चिम नवलपरासीका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

२०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना र निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो ।

पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरिएको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि म्याद थप भएको हो ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

२०८२ साउन ८ गते सम्मका लागि म्याद थप भएको छ । एक सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरी काम अघि बढाइएको छ । अहिलेसम्म ६५ किमी एकतर्फी र २२ किमी दुईतर्फी सडक कालो पत्र भएको छ ।

This is how the Butwal-Narayangadh road section expansion work is going on

१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा आयोजना अगाडि बढेको हो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully