डिपोर्ट भएकामध्ये केही ५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका पुगेका थिए

फाल्गुन २१, २०८१

विवेक पोख्रेल

Some of the deportees reached America by spending between 5 million and 1 million

काठमाडौँ — अमेरिकाबाट चार्टर विमानमार्फत फर्काइएका ८ मध्ये केहीले आफूहरु १२ वटा देशका सीमा अवैध रुपमा पार गरेर अमेरिका पुगेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको पुर्‍याइएका उनीहरुले सोधपुछका क्रममा यस्तो बताएका हुन् ।

ब्युरोका एक अनुसन्धान अधिकारीका अनुसार उनिहरुले ५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका छिरेको बताएका थिए । प्रहरीका अनुसार फर्केकामध्ये रुकुम पूर्वका २ जना, रोल्पाका १ जना, दाङका ३ जना र डोटीका १ जना छन् ।  

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार उनीहरु बढीमा १० महिना र थोरैमा ५ महिना अमेरिका बसेका थिए । फर्केकाहरुमध्ये सबैजसो अध्यागन हिरासतबाट सोझै न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको थियो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।

ब्युरोको सोधपुछमा क्रममा फर्केकाहरुले आफूखुशी गएको बताएका थिए । ब्युरोका अनुसार सोधपुछपछि कसैले पनि उजुरी भने दिएका छैनन् ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully