पोखरा — म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको अभियोगमा थुनामा रहेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई एमालेले निलम्बन गरेको छ ।
एमाले गण्डकी प्रदेशका सचिव धनन्जय दवाडीका अनुसार मंगलबार पोखरामा सम्पन्न पार्टीको सचिवालय बैठकले थापालाई निलम्बन गरेको हो । जिसस प्रमुखसमेत रहेका राजकुमार थापा एमालेका नेता हुन् ।
थापा एमाले गण्डकी प्रदेशका सल्लाहकार सदस्य हुन् । 'उहाँलाई मुद्दाको किनारा नलाग्दा सम्मका लागि निलम्बन गरिएको हो,' एमाले प्रदेश सचिव दवाडीले भने ।
जिसस प्रमुख हुनुअघि कुमारी सहकारीको हर्ताकर्ता रहेका थापाले त्यहाँका बचतकर्ताको १ अर्ब ४९ करोड हिनामिना गरेर हाल जिल्ला प्रहरीको हिरासतमा रहेका छन् । उनले सहकारीको रकम गैरकानुनी तरिकाले झिकेर आफ्नो बोर्डिङ स्कुल, घरजग्गा प्लटिङ, ढुकुटी खेलाएर दुरुपयोग गरेका थिए ।
९ महिनाअघि छानबिन हुँदा उनको योजनामा डेढ अर्ब रुपैयाँ हिनामिना भएको थियो । छानबिन प्रतिवेदन सार्वजनिक हुनासाथ पक्राउ पर्नुपर्ने थापा राजनीतिक पहुँचका भरमा उम्किँदै आएका थिए । उनी एक महिना अघि पक्राउ परेका हुन् ।
प्रहरीले मुद्दाको सुरुवाती चरणको अनुसन्धान अघि बढाएर सक्दै गर्दा ढिलो गरी एमाले पार्टीले थापालाई निलम्बन गरेको हो । उनले डेढ अर्ब हिनामिना गरेको तथ्य सार्वजनिक भएको १० महिनापछि बल्ल एमाले पार्टीले उनलाई निलम्बन गरेको हो ।
