काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारीसाधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन् ।
मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले नेपालसँग कति सवारी साधन छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनुपरिरहेको गुनासो गरेका हुन् ।
'अहिलेसम्म हामीसँग कति भेहिकल छन् भन्नेकुरा एउटा राज्यसँग यकिन तथ्यांक छैन । कति छन् भन्नेकुरा थाहा छैन भनेर भनिरहनुपर्ने कुरा त्यत्ति शोभनिय कुरा होइन । तर भनिरहेका छौँ । कसैले ६० लाख भन्छन्, कसैले ५० लाख छन् भन्छन्,' मन्त्री दाहालले भने, 'यो वैशाखसम्ममा जसरी पनि यकिन तथ्यांक ल्याउनुपर्छ । अब हामी अन्तर्राष्ट्रिय गोष्ठीमा जानुपर्ने छ । तर त्यहाँ पनि हामीले यस्तै यस्तै डाटा भन्छौँ । कहिले ५० लाख, कहिले ६० लाख भन्छौँ भन्ने चाहीँ गरेका छौँ । त्यसमध्येको ८० प्रतिशत मोटरसाइकल भनेका छौँ ।'
