सनराइज सहकारी ठगी प्रकरण : राप्रपा सांसद बस्नेतलगायत अभियुक्त अझै फरार

फाल्गुन २०, २०८१

रमेशकुमार पौडेल

Sunrise cooperative fraud case: RPP MP Basnet and other accused are still absconding

चितवन — भरतपुर महानगरस्थित सनराइज सहकारीको बचत हिनामिनामा संलग्नहरू पक्राउ नपरेकोमा बचतकर्ताले आक्रोश व्यक्त गरेका छन् । सहकारीको बचत हिनामिनामा संलग्न रहेको अभियोग लागेकी राप्रपा संघीय सांसद गीता बस्नेतलगायत व्यक्ति महिनौंदेखि फरार रहेको भन्दै उनीहरूलाई छिटो पक्राउ गर्न पीडितले माग गरेका हुन् ।

सनराइज सहकारीका पीडित बचतकर्ताले बचत फिर्ता नपाएको र सहकारीको ९० करोड बचत हिनामिना भएको भन्दै गत वर्ष पुस १७ मा चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि बस्नेतसहित २१ जनालाई प्रतिवादी कायम गरेर चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको छ । मुद्दामा गत मंसिर ४ मा थुनछेक बहस हुँदा अदालतले त्यतिबेला उपस्थित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

चितवन अदालतले थुनामा पठाउन आदेश दिएका नगेन्द्रबहादुर रिमाल, योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज गौतमलाई पूर्वी नवलपरासीको छिपछिपे सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पनि उनीहरू पुर्पक्षका लागि थुनामा थिए । छिपछिपे सहकारी प्रकरणमा पक्राउ परेका र सनराइजमा पनि पदाधिकारी रहेकाबाहेक चितवनमा अरू पक्राउ परेका छैनन् । 

‘मुद्दा दर्ता भएपछि पनि केही प्रतिवादी अदालतमा हाजिर भएर धरौटीमा छुटेको भन्ने छ । तर सांसद बस्नेतलाई न पहिला प्रहरीले समायो न अहिले मुद्दा दायर भएपछि उनी अदालतमा हाजिर भएकी छन्,’ पीडित बचतकर्ताले गठन गरेको संघर्ष समितिका पूर्वसंयोजक रहेका चन्द्रकुमार श्रेष्ठले भने । नारायणगढका किराना व्यवसायी श्रेष्ठले बचत फिर्ताको अभियानमा लाग्दा व्यवसाय नै चौपट भएको दुखेसो पोखे । ‘हाम्रो न बचत सुरक्षित रह्यो न व्यवसाय चलाउन सकियो । सांसद जस्तो मान्छेले बचत अपचलन गरे, कानुनी दायरामा आएनन्,’ श्रेष्ठले भने । 

सांसद बस्नेत अध्यक्ष रिमालकी सासू हुन् । प्रहरीसँगको बयानमा रिमालले सहकारीको पैसाबाट सासू बस्नेतको नाममा जग्गासमेत किनेको बताएका छन् । अदालतमा दायर अभियोगपत्रमा बस्नेतले सनराइज सहकारीबाट रकम लगेर बर्दियाको कृष्णसागर रिसोर्टमा खर्च गरेको १५ करोड रुपैयाँको २५ प्रतिशत रकम व्यहोर्न माग गरिएको छ । उनले अन्य सात जनासँग मिलेर किनेको आठ करोड रुपैयाँको जग्गाको रकम पनि व्यहोर्न माग गरिएको छ । ‘प्रतिवादी ढुण्डीराज गौतमसमेतको मिलेमतोमा प्रतिवादी बस्नेत र सरिता गौतमले सनराइज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरी जग्गा खरिद गरेर सनराइजका सेयर सदस्य र बचतकर्तालाई ठगी गरेको पुष्टि हुन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

चितवन प्रहरीले बस्नेतविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेपछि प्रहरी र बचतकर्ताको टोली नै बर्दिया गएको थियो । ‘बस्नेतसहित प्रतिवादीहरू पक्राउ पर्छन् कि भनेर हामी प्रहरीसँगै बर्दिया पनि गयौं,’ बचतकर्ता दुर्गालाल गुरुङले भने । सांसद बस्नेतलाई कानुनी दायरामा ल्याउन सहयोग गर्न राप्रपाका नेताहरूसँग पटकपटक कुरा राखेको बचतकर्ताहरू बताउँछन् । ‘चितवनका सांसद विक्रम पाण्डे राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँकै निर्वाचन क्षेत्रका बासिन्दासमेत यो ठगीमा परेर पीडित भएका 

छन् । उहाँलाई हामीले तीन पटक भेटेरै कुरा राख्यौं,’ बचतकर्ताले गठन गरेको संघर्ष समितिका हालका संयोजकसमेत रहेका गुरुङले भने ।

झन्डै दुई वर्षदेखि महानगरपालिका, प्रहरी र अनेक सरकारी निकायमा धाउँदा पनि न्याय पाउने वातावरण नबन्नु दुःखद भएको बचतकर्ता तुलसी सापकोटाको गुनासो छ । ‘कानुनले काम गर्दै छ, केही परिणाम आउँला भनेर धैर्य गरेरै बस्यौं । यति लामो समय बित्यो । संसद्समेतले कानुनी प्रक्रियालाई चुनौती दिएको देख्दा न्याय पाउने आशा मर्दै गएको छ,’ सापकोटाले सुनाए । चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले फरार प्रतिवादीको खोजी भइरहेको बताए । ‘बस्नेतलाई पनि हामी सूचना र जानकारीका आधारमा खोजी गरिरहेका छौं,’ उनले भने ।

तत्कालीन भरतपुर नगरपालिका–१२ मा कार्यालय रहने गरेर २०६६ भदौ ११ मा सनराइज सहकारी दर्ता भएको थियो । पछि गुलरिया–५, बर्दियाका नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरेर भरतपुर–३ लायन्सचोकमा कार्यालय राखेर २०७३ देखि सञ्चालन हुँदै आएको थियो । संस्थाले अन्य दुई ठाउँ चनौली र भरतपुर विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो ।

अभियोगपत्रमा उल्लेख भएअनुसार सहकारीको केन्द्रीय कार्यालय लायन्सचोक, सेवा केन्द्रहरू पार्वतीपुर, चनौली र विकास चोकबाट २२ हजार ४ सय ६४ जना बचतकर्ताको ९० करोड ६७ लाख ८१ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने देखिन्छ । सनराइज सहकारी प्रकरणबारे थप अध्ययन छानबिन गर्न भरतपुर महानगरले पनि समिति गठन गरेको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष तेजेन्द्र खड्काको संयोजकत्वमा गठित सात सदस्यीय समिति अध्ययनमै लागेको छ । ‘९० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भयो । ककसले कति रकम हिनामिना गरे त्यो निकाल्ने अन्तिम तयारीमा छौं,’ खड्काले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully