देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

To build the country, everyone should do what they can from their own area: Prime Minister Oli

काठमाडौँ —  प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् । मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताए । उनले राम्रो काम गर्नेहरूलाई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद भएको बताए ।

उनले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरू गरेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको विरोध गर्ने, यसको झुटो आरोप लगाउने, त्यसमाथि विरोध गर्ने । कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने । आफू सरकारमा भयो भने नाटक गर्ने । नाटकमै समय बित्छ । अर्कोले गर्न खोज्यो भने त्यसको विरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने । यो भन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक मैले नेतृत्व गरेको सरकारमा एक सय एक ऐतिहासिक काम भएका छन् ।' 

उनले अहिले पनि युवाहरूलाई लक्षित गरेर एक लाख भन्दा बढी एसइई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताए । उनले यस पटक कम्तीमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गरे । 

उनले भने, 'पूर्वाधार निर्माणका कुरा हुन्, विकासका कुरा हुन्, शिक्षा क्षेत्र, अरू पनि कुरा हुन् । अहिले पनि एसइईलाई ध्यानमा राखेर व्यक्तिगत तवरमा युवाहरूलाई आग्रह गरेर व्यक्तिगत तवरमा पनि सञ्चालन गरिरहेको छु एक लाख भन्दा बढी एसइई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरूलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरूको ठूलो साथ सहयोग र सहभागिता छ । यस पटक कम्तीमा ६० प्रतिशत नतिजा पुर्‍याउने उद्देश्य मैले राखेको छु । सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्न सक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि ।’

प्रधानमन्त्री ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसरकारी अस्पतालहरूमा नर्सहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो सुनेको बताए ।

उनले न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमिक कुनै पनि बहानामा न्यूनतम भन्दा तलको पारिश्रमिक दिन नपाइने बताए ।

कान्तिपुर

Link copied successfully