कैलाली — माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी जातीय अतिवादको पक्षमा नरहेको बताएका छन् । कैलालीको टीकापुरमा मंगलबार आयोजित पार्टीको कार्यक्रममा पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाती र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने पार्टी नीति रहेको बताए ।
पुनले पार्टीले उत्पीडितका पक्षमा नीति निर्धारण गर्दा एकाधिकारवादी र पुँजीपतिले गलत आरोप लगाउने गरेको बताए ।
‘उत्पीडित जाती, वर्ग र समुदायलाई केही पनि प्राप्त भएको छैन, हिजोकै अवस्था छ भनेर भड्काउन खोज्ने अति जातिवादी सोच र पुरै प्राप्त भयो भनेर समर्पण गराउन खोज्ने यथास्थितिवादी प्रवृत्ति दुवै सहतमा देखिने गरेको छ,’ उनले भने, ‘हाम्रो अतिवादी र जातिवादी दुवै सोचभन्दा फरक धारणा छ । हामी प्राप्त भएको उपलब्धिको स्वामित्व लिने र समाजवादी गणतन्त्रमार्फत थप अधिकार सम्पन्न बनाउने नीतिका साथ अघि बढेका छौं ।’
पुनले मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारु समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर देशमा गणतन्त्र स्थापना भएको बताए ।
पुनले अझै पनि आन्दोलनका उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका हासिल गर्न उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी बताए । जातीय अतिवाद र सत्ताधारीहरुको संकीर्णताविरुद्ध उत्पीडित समुदायलाई एकताबद्ध गर्नुपर्छ भन्ने मान्यता माओवादीको रहेको उनको भनाइ थियो ।
‘हामी जातिवादी र अतिवादी होइनौं । हामी नेपालका सबै जातजाति, समुदायबीच आपसी एकता, सदभाव र समान हकअधिकार हुनुपर्ने भन्ने हाम्रो नीति हो । पहाडी र मधेसी लडाउनेहरू जातिवादी र अतिवादी हुन् । माओवादी पहाडी, मधेसी, थारु लगायत सबै उत्पीडित जाति जनजाति र वर्गको पार्टी हो,' पुनले भने ।
