जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : अध्यक्ष दाहाल

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

It is the responsibility of the Maoists to protect the rights acquired by the people: Chairman Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् ।

कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्‍घाटनका क्रममा अध्यक्ष दाहालले आन्दोलनबाटै उत्पीडित समुदायको अधिकार सुनिश्चित गरेको बताएका हुन् । 

‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारु आयोगको व्यवस्था, थारुलाई मधेशी क्लस्टरबाट छुट्याउने, थारु समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले थारु समुदायका लागि लड्ने शक्ति माओवादी नै भएको दाबी गर्दै अरुको भ्रममा नपर्न आग्रह गरे । ‘थारु समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो,’ उनले भने, ‘अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर थारु समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कान्तिपुर

Link copied successfully