एमाले मोरङको जिल्ला अधिवेशन : ७१ जना निर्विरोध, १ सय ९१ पदका लागि बुधबार मतदान

फाल्गुन २०, २०८१

पर्वत पोर्तेल

District session of UML Morang: 71 unopposed, voting for 191 posts on Wednesday

विराटनगर — एमाले मोरङको १०औं जिल्ला अधिवेशनबाट मंगलबार ७१ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ । बाँकी १ सय ९१ पदका लागि अब बुधबार बिहान ७ बजेदेखि मतदान हुने छ । 

नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले बुधबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको छ । यसअघि सोमबार मतदान हुने भनिएकोमा सहमतिको प्रयास जारी राख्दै मतदान सारिएको थियो, जसले प्रतिनिधिहरूलाई असन्तुष्ट बनाएको थियो । 

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार १ पटकमा २० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारको संख्या धेरै भएका कारण प्रत्येक मतदातालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना पार्टी कार्यालयमै गरिनेछ । अधिवेशनमा दुई गुटबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

संस्थापन गुटबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीले उम्मेदवारी दिएका छन् । इतर गुटबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर) को उम्मेदवारी परेको छ । 

अधिवेशनमा ९ सय ११ जना प्रतिनिधिहरू सहभागी छन् । सर्वसम्मत नेतृत्व चयनको लामो प्रयास विफल भएपछि द्धिपक्षीय गुट निर्वाचन प्रक्रियामा होमिएको हो ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully