त्रिविका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन
काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार चैत ५ मा हुने चुनावमा सहभागी हुन सोमबार विद्यार्थी संगठन दर्ता भएका छन् ।
समितिका सदस्यसचिव पशुपति अधिकारीले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको बताए । निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं र अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।
त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत पनि दर्ता भएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च पनि दर्ता भएको समितिले जनाएको छ । २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ–संगठनले भाग लिएका थिए ।
निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन/समूह दर्ता हुनुपर्ने व्यवस्था छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनले कतिपय क्याम्पसमा अध्यक्षलगायत उम्मेदवार घोषणा गरिसकेका छन् । स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन २७ मा देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामावली दाखिला सोही दिने हुने सदस्यसचिव अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय कायम गरिएको छ । चैत ५ मा बिहान ८ देखि ४ बजेसम्म मतदान समय तोकिएको छ । फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ ।
आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन् । निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिनै लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो । क्याम्पसहरूले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।
स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष उमेरको हद तोकिएको छ । मिश्रित प्रणालीअनुसार निर्वाचन हुने व्यवस्था छ । अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । सरकारी पारिश्रमिक लिने व्यक्ति वा संस्थालाई निर्वाचनसम्बन्धी गतिविधि गर्न रोक लगाइएको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ । निर्वाचन गराउन क्याम्पस प्रमुखले निर्वाचन समिति गठन गराउनुपर्नेछ । दुई सय विद्यार्थीसम्म रहेका क्याम्पसमा ५ सदस्यीय र ५ हजारभन्दा बढी विद्यार्थी रहेका क्याम्पसमा १३ सदस्यीय निर्वाचन समिति रहने निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख छ ।
यस पटक निर्वाचनको पर्यवेक्षण गर्ने व्यवस्थासमेत मिलाइएको त्रिविका रेक्टर खड्ग केसीले बताए । प्रत्येक जिल्लामा नेपाल बार एसोसिएसन, मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेको पर्यवेक्षण समिति रहने व्यवस्था गरिएको छ ।
