झापामा भेटियो नयाँ प्रजातिको बैजनी बुंगेचरा

नेपालमा पाइने चराको प्रजातिको संख्या ८९८ पुग्यो

फाल्गुन २०, २०८१

रमेशकुमार पौडेल

A new species of Purple Bungechara was found in Jhapa

चितवन — झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् संघका अनुसार झापामा 'पर्पल रम्प्ड सनबर्ड' भेटिएको हो । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको नेपाली नाम बैजनी बुंगे राखिएको जानकारी दिएको छ । 

चराविद् देवेन्द्रकुमार खरेलले अवलोकनका क्रममा गत फागुन ७ गते बिहान उक्त चरा देखेका थिए । एउटा घरको एभोकाडो र शीतल चिनीको रुखमा भाले/पोथी चरा देखिएका थिए । उक्त चरा दुई दिनसम्म त्यहीँ देखिएको नेपाल बर्ड रेकर्ड कमिटीका डा.तुलसी सुवेदीले जानकारी दिए ।

खरेलपछि पनि सो चरा अन्य चराविद् अनिस तिमसिना, चक्र तिमिसना र शंकर लुइँटेलले पनि देखेको नेपाल पन्छीविद् संघले जनाएको छ ।

खरेलले सो चराको तस्बिर फागुन ९ गते बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए । यो पुष्टिसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९८ पुगेको संघले जनाएको छ । यो चरा बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा आवासीय रूपमा पाइने नेपाल पन्छीविद् संघले जनाएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully