२७ विद्यालयमा ९ थरी बाजा

राप्ती गाउँपालिकाद्वारा ५० शिक्षकलाई बजाउने र मर्मत गर्ने तालिम

फाल्गुन २०, २०८१

दुर्गालाल केसी

9 types of instruments in 27 schools

दाङ — कोही हार्मोनियम, कोही गितार त कोही मादल बजाउन तल्लीन । किताब, मार्कर र डस्टर बोकेर कक्षामा पस्ने शिक्षक सकिनसकी बाजा सिकिरहेका छन् । विद्यार्थीलाई बाजा र संगीतसम्बन्धी पढाउन सहज होस् भनेर राप्ती गाउँपालिकाले दिएको तालिममा २७ विद्यालयका ५० शिक्षकले बाजा बजाउन सिकेका हुन् । पढाइमा अवरोध नहुने गरी सार्वजनिक बिदाका दिन पारेर उनीहरूले एक महिनासम्म तालिम लिएका छन् ।

कक्षा ४ देखि ८ सम्म स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयमा बाजा र संगीतसम्बन्धी पाठ छन्, तर बाजाको ज्ञानबिना नै शिक्षकले पढाउँदै आएका थिए । ‘विद्यार्थीले रुचि राख्दा कसरी सिकाउने ?,’ गाउँपालिकाका शिक्षा अधिकृत विश्वास विक भन्छन्, ‘यस्ता कठिनाइमा अल्मलिइरहेका शिक्षकलाई तालिम दिएर निपुण बनाइएको हो ।’ 

धेरैजसो शिक्षक पहिलो पटक हार्मोनियम र गितार छोएको बताउँछन् । ‘सुरुमा त बाजा समाउनसमेत जानेका थिएनौं,’ नेपाल राष्ट्रिय मावि भालुबाङकी शिक्षक विमला भझ्राईले भनिन्, ‘समाउँदा उल्टो पर्‍यो कि सुल्टो केही थाहा हुँदैनथ्यो, सिक्दै जाँदा अहिले बजाउन सक्ने भइयो ।’ 

किताबमा उल्लेख भएका विषयमा सुरताल केही नबुझी पढाउने गरेको अनुभव शिक्षकले सुनाए । ‘विद्यालयमा बाजा छैन, सिकाउने मानिस पनि छैन, विद्यार्थीमा कति क्षमता छन्, प्रस्फुटन गर्ने वातावरण छैन,’ मावि रूपाकोटका प्रधानाध्यापक लक्ष्मण बुढाथोकी भन्छन्, ‘बाजा र संगीतको कक्षा लिएकाले अब पढाउने विषयवस्तुले न्याय पाउने भएको छ । बालबालिकाले क्षमता देखाउने अवसर पाउनेछन् ।’

गाउँपालिकाले पहिलो पटक शिक्षकलाई बाजा तालिम दिएको हो । यसबाट शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक प्रभाव पर्ने जनता माविकी शिक्षक पूजा राना बताउँछिन् । ‘हामीले पहिलो पटक बाजा र संगीतको कक्षा लिएका छौं, पहिले शिक्षकलाई यस्तो तालिम चाहिन्छ भन्ने सोच नै थिएन,’ उनी भन्छिन्, ‘गाउँपालिकाले पहिलो पटक यस्तो रचनात्मक काम गरेको छ, यसले हाम्रो हौसला बढेको छ ।’ बाजा तालिमले शिक्षकलाई रचनात्मक बनाउन र विद्यालयमा सांगीतिक क्रियाकलाप सञ्चालन गर्न सहयोग मिलेको सर्वोदय मावि सिसहनियाका शिक्षक लक्ष्मण सारु मगर बताउँछन् । ‘हामी अब विद्यालयमा यो सीपलाई उपयोग गरी विभिन्न सिर्जनशील क्रियाकलाप सञ्चालन गर्नेछौं,’ उनी भन्छन्, ‘यसअघि स्रोतसाधन र सीप नभएर वाद्यवादन र संगीतको पाटो शून्य थियो ।’ 

बालविकास कक्षा पढाउँदा नाच्दै, गाउँदै पढाउनुपर्छ । कक्षाकोठा मनोरञ्जनात्मक हुनुपर्छ भन्ने मान्यता छ । तर शिक्षकसँग सीप र बाजा नहुँदा यो सम्भव भएको थिएन । ‘तालिमले यसको समाधान गरेको छ,’ नवप्रतिभा आधारभूत विद्यालय पाखापानीकी बालविकास शिक्षक निर्मला आचार्य भन्छिन्, ‘बालविकास कक्षा मनोरञ्जनमा आधारित हुनुपर्छ, तालिमपछि अब कक्षाकोठाको वातावरण बालबालिकामैत्री हुने भएको छ ।’

बाजा बजाउन सिक्दा सुरुमा अनौठो लागे पनि विस्तारै निकै उपयोगी हुँदै गएको अनुभव जनज्योति आधारभूत विद्यालयका शिक्षक गोविन्दबहादुर कुँवरले सुनाए । ‘शिक्षकले पढाउने र लेखाउने मात्र हो भन्ने बुझाइ थियो,’ उनी भन्छन्, ‘अब शिक्षकसँग चौतर्फी क्षमता हुनुपर्छ भन्ने थाहा भएको छ ।’

शिक्षकलाई सुरुका दिनमा बाजाको प्राविधिक ज्ञान नहुँदा अभ्यस्त हुन कठिन भए पनि अहिले आधारभूत ज्ञान प्राप्त भएको प्रशिक्षक बेदुलाल सुवेदीले बताए । ‘संगीत र वाद्यवादनमा कहिल्यै अभ्यास नगरेका शिक्षकले एकैपल्ट बाजा बजाउन थाल्नु कठिन थियो,’ उनी भन्छन्, ‘रुचि र लगनशीलताले शिक्षकहरूले छिटै सीप हासिल गर्नुभयो, अहिले सबैले राम्रोसँग बजाउन सक्नुहुन्छ ।’ बाजा बजाउनेदेखि आधारभूत मर्मत गर्नेसम्मका सीप सिकाइएको उनले बताए । ‘गाउँपालिकाले तालिमसँगै प्रत्येक विद्यालयलाई हार्मोनियम, गितार, तबला, मजुरा, सारंगी, मादल, बासुरीलगायत नौ थरी बाजा र साउन्ड बक्स पनि दिएको छ,’ शिक्षा अधिकृत विक भन्छन्, ‘विद्यालयमा बाजा अभावमा सीप खेर नजाओस् भनेर बाजा प्रदान गरिएको हो ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully